Biratnagar, Morang, Nepal
२ असोज २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

संसारी माईस्थानको जग्गा माइस्थानकै भएको सर्वोच्चको फैसला

सर्वोच्चको फैसलाले भानु मोरङ सांस्कृतिक समितिले निर्माण गरेको भौतिक संरचना समेत हटाउन फैसला गरेको जनाइएको छ । यस अघि जिल्ला र उच्च अदालतको फैसलामा भने भौतिक संरचना हटाउने आदेश थिएन ।
उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–१० स्थित संसारीमाई मन्दिरको जग्गा सर्वोच्च अदालतले माईस्थानकै नाममा कायम रहने गरी महत्वपूर्ण फैसला गरेको छ । सर्वोच्चको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम रहने ठहर गरेको हो । 

संसारी माईस्थानका विरूद्धमा भानु मोरङ सांस्कृतिक समितिले गरेको अपिलमाथि यसअघि उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले संसारी माईस्थानका पक्षमा फैसला गरेको हो ।

विराटनरको ऐतिहासिक धार्मिकस्थल संसारी माईस्थानका नाममा गोग्राहा प्रगन्ना रहँदैदेखि पिचरा मौजाको रैती नम्बर १३८ को १३ कठ्ठा १५ धुर जग्गा वि.सं. १९७० साल भन्दा अघिदेखि नै कायम रहँदै आएकोमा २०४३।०४४ सालमा नगर नापी क्याम्पबाट जग्गा नाप जाँच गर्दा कित्ता नम्बर १७ को ८ कठ्ठा ९ धुर कित्ता नम्बर १५ को २ कठ्ठा १० धुर जग्गा भानु मोरङ सांस्कृति समितिले आफ्नो नाममा नापी गराएको थियो ।

सो समितिले संसारी माईस्थानको जग्गा आफ्नो नाममा गराई भौतिक संरचना पनि खडा गरेको थियो । भानु मोरङ सांस्कृतिक समितिका तत्कालीन अध्यक्ष चतुर्भुज आशावादीले आफ्नो पहुँच र पकडका भरमा धार्मिक संस्थाको जग्गो कब्जामा लिई आफ्नो समितिका नाममा नापी गराउन सफल भएका थिए ।

संसारी माईस्थानका तर्फबाट राजेशकुमार मास्केले मोरङ जिल्ला अदालतमा दायर गरेको मुद्दामा २०६९ साल माघ २० गते अदालतबाट फैसला हुँदा उक्त जग्गा संसारी माईस्थान मन्दिरकै हुने फैसला भएको थियो । 

भानु मोरङ सांस्कृतिक समितिले सो फैसलाको विरूद्धमा उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकोमा उच्च अदालत विराटनगरले समेत २०७१ मंसिर २९ गते संसारी माईस्थान मन्दिरकै पक्षमा फैसला सदर गरेको थियो ।

उच्च अदालतको फैसला विरूद्ध सर्वोच्च गएको भानु मोरङ सांस्कृतिक समिति सर्वोच्चबाट पनि हारेको हो । 

सर्वोच्चको फैसलाले भानु मोरङ सांस्कृतिक समितिले निर्माण गरेको भौतिक संरचना समेत हटाउन फैसला गरेको जनाइएको छ । यस अघि जिल्ला र उच्च अदालतको फैसलामा भने भौतिक संरचना हटाउने आदेश थिएन ।

संसारी माईस्थानलाई विहारीलाल श्रेष्ठ नाम गरेका व्यक्तिले जग्गा दान गरेका थिए । इश्वरीय भक्तिका आधारमा देवीप्रति समर्पित भई दान गरेको जग्गामा पछि अरूको गिद्देदृष्टि पर्न गई कीर्ते प्रमाणका आधारमा जग्गाको स्वामित्व कायम गरेको र अदालतको फैसलाले जग्गा संसारी माईस्थान मन्दिरका नाममा फिर्ता आएको हो । फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको जनाइएको छ ।

अदालतमा मुद्दा पर्नुअघि भानु मोरङ सांस्कृतिक समितिका तर्फबाट र भानु मोरङ सांस्कृतिक समितिका तर्फबाट पनि पाँच–पाँच जना बसेर मुद्दा मिलाउन प्रयास गरेका थिए । मुद्दा मिल्ने अवस्था नबनेपछि मास्केले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

संसारी माईस्थानमा नागरिकस्तरबाट समिति गठन गरी मन्दिरको नियमति पूजा हुँदै आएको छ । समितिलाई अझ सबल बनाउँदै भौतिक पूर्वाधारहरूको निर्माणसँगै मन्दिरलाई अझ दीगो र सबल बनाउन निकट भविष्यमा संसारी माईस्थानमा राधिका दासीबाट सप्ताह पुराण वाचन गराउने योजना रहेको जनाइएको छ । यही बीचमा सर्वोच्चले गरेको फैसलाले समितिलाई भने अझै उत्साहित बनाएको सम्वद्ध सदस्यहरुले बताएका छन् ।

मठ मन्दिरको जग्गा कब्जा गर्ने र व्यक्तिगत नाममा या आफ्नो निजी संस्थाको नाममा दर्ता गर्ने प्रवृत्ति विराटनगरमा धेरै देखिएको जनाइएको छ । 

नगर नापी क्याम्प बसेकै बेलामा काली मन्दिरको जग्गा समेत मन्दिरका पुजारीले आफ्ना नाममा दर्ता गराएका थिए । 

अदालतमा मुद्दा दायर भएपछि अदालतले मन्दिरको पक्षमा फैसला गरेर जग्गा फिर्ता गराइसकेको छ । आदर्श पुस्तकालयको जग्गा रोटरी क्लबले हड्पेको विषयले पनि विराटनगरमा चर्चा कायमै छ । यो मुद्दा पनि अदालतमा पुगेको र अदालतले भने रोटरीको पक्षमा फैसला दिइसकेको छ ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved