विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने लक्ष्यका साथ विराटनगर महानगरपालिकाले आजबाट निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र मोरङका भेटनरी अस्पतालको सहयोगमा सञ्चालन हुने यस अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने लक्ष्य राखेको छ ।
आइतबार विराटनगर–१२ स्थित बञ्चरा एग्रोभेटमा एक विशेष कार्यक्रम गरी खोरेतमुक्त प्रदेश अभियान सुरु गरिएको हो । सो अवसरमा फार्ममा रहेको एक गाईलाई सर्वप्रथम मालाका साथ खोरेतको खोप लगाई अभियान सुरुवात गरिएको हो । प्रदेशका सबै जिल्लामा आइतबारदेखि नै खोरेतमुक्त अभियान अन्तर्गत खोप लगाउन सुरुवात गरिएको हो ।
बञ्जरा कृषि फार्ममा गरिएको कार्यक्रमा उद्योग कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी विकास महाशाखाकी प्रमुख डा दीपा दिवालीले विदेशमा दुग्धजन्य पदार्थ निर्यातगर्दा खोरेतमुक्त प्रमाणित हुनेपर्ने भएको जानकारी दिंदै प्रदेश सरकार खोरेतमुक्त अभियानमा लागेको बताइन् ।
उनका अनुसार पशुको खुर र मुखमा लाग्ने खोरेत एक संक्रामक विषाणुजन्य रोग हो, जसले गाई, भैंसी, बंगुर आदि खुर भएका पशुहरूलाई लाग्ने गर्छ । यसले पशुको उत्पादन क्षमता घटाउने र मृत्यु नै हुने गर्दा कृषकहरूलाई ठूलो आर्थिक क्षति पु¥याउ“छ ।
विराटनगर महानगरपालिकाका अनुसार नगरमा हाल २१ हजार छ सय गाईभैंसी रहेको र पहिलो चरणमा यसमध्ये १६ पशुलाई निःशुल्क खोप लगाइनेछ । मोरङ जिल्लामा जम्मा ३ लाख ८० हजार डोज खोप वितरण गर्ने लक्ष्य रहेको छ भने प्रदेशमा रहेका १७ लाख पशुमा १३ लाखलाई खोप लगाइने छ । जुन जम्मा संख्याको ७५ प्रतिशत हुन आउने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले बताए ।
इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको र अब झापा, मोरङ, सुनसरी र उदयपुरलाई यस्तै बनाउने तयारी चलिरहेको उनले जानकारी दिए । उनले कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेतमुक्त बनाउने हाम्रो लक्ष्य रहेको बताए ।
यस अभियानले पशुको स्वास्थ्यमा सुधार ल्याउने, मृत्युदर घटाउने र किसानहरूले हरेक वर्ष खोरेतले हुने आर्थिक क्षतिबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । महानगरका सबै १९ वडामा यो खोप कार्यक्रम निरन्तर चलाइनेछ ।
सो कार्यक्रममा विराटनगर महानगरपालिकाका आर्थिक विकास संयोजक तथा विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, बञ्जरा कृषि फार्मका सञ्चालक गजेन्द्र शर्मा बञ्जरा, विराटनगर–१२ का वडा सदस्य कुशेश्वर राजवंशी, महानगरका कृषि तथा पशुपंक्षी विकास शाखा प्रमुख हीरालाल यादव, भेटनरी अस्पतालका प्रमुख अजयकुमार साह लगायतले मन्तव्य राखेका थिए ।
विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा उन्नत जातका झण्डै दुई सय गाई पालिएको छ । आधुनिक तथा खुल्ला तरिकाले गाई पालिएकाले यो गाईपालन प्रदेशभरीकै नमूना रहेको बताइएको छ ।
View : 280
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved