अब जंगलको यात्रामा सञ्चारको सुरक्षा
विराटनगर । पूर्वपश्चिम राजमार्गको सबैभन्दा चुनौतीपूर्ण मानिने लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्रमा अब मोबाइल नेटवर्क नहुने समस्या अन्त्य भएको छ।
निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यस क्षेत्रमा आफ्नो सेवा विस्तार गरेसँगै यात्रुहरूले अब निर्बाध रूपमा कुराकानी र इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्।
मधेश प्रदेशकै सबैभन्दा लामो (२१ किलोमिटर) यो जंगल खण्डमा वर्षौँदेखि मोबाइल कभरेज नहुँदा हजारौँ यात्रुहरूले सञ्चार सम्पर्कविच्छेदको समस्या झेल्दै आएका थिए।
सुरक्षाका दृष्टिले समेत संवेदनशील मानिने यस क्षेत्रमा एनसेलले पहिलो चरणमा ८ किलोमिटर क्षेत्र समेट्ने गरी सेवा सञ्चालनमा ल्याएको हो।
जंगल क्षेत्रमा विद्युत आपूर्ति र टावर व्यवस्थापनका प्राविधिक कठिनाइका कारण सेवा पुर्याउन कठिन थियो। तर, एनसेलले लिन नेटवर्क सोलुसन नामक नयाँ प्रविधिको प्रयोग गरी गढन्ता र लक्ष्मिनिया साझेदारी वन परिसरका निश्चित स्थानहरूबाट सेवा प्रवाह सुरु गरेको छ।
एनसेलको सो क्षेत्रमा सेवा विस्तारले जंगलको बाटोमा सवारी बिग्रिएमा वा अन्य आपतकालीन अवस्थामा तत्काल सम्पर्क गर्न सकिने भएको छ । साथै दैनिक रूपमा पूर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु र वरपरका स्थानीयलाई सहजता भएको छ ।
यसले गर्दा डिभिजन वन कार्यालय महोत्तरी र मातहतका सबडिभिजन कार्यालयहरूको सहयोगमा सेवा सम्भव भएको बताइएको छ ।
गत वर्ष मधेश प्रदेशका मुख्यमन्त्रीले यस सडक खण्डमा नेटवर्क नहुँदा सुरक्षा संवेदनशीलता बढेको भन्दै कनेक्टिभिटी सुधारमा जोड दिएका थिए । सोही आवश्यकतालाई सम्बोधन गर्दै एनसेलले यो कदम चालेको हो।
एनसेलका अनुसार बाँकी क्षेत्रमा पनि सेवा विस्तारका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। अब लालबन्दी–बर्दिबासको जंगल छिर्दा नेटवर्क गायब हुने डर हराएकोमा यात्रुहरूले खुसी व्यक्त गरेका छन्।
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved