Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा

उद्‌घोष संवाददाता
१३ कार्तिक २०८२, बिहिवार

नयाँदिल्ली, १३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य–समर्थित रिफाइनरी एचपिसिएल–मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइएको आयात शुल्क बढाएर ५० प्रतिशत पुर्‍याउनुभएपछि गत अगस्टमा वासिङ्टन र नयाँदिल्लीबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमा रूसको युद्धलाई सहयोग गरिरहेको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताका सर्तहरूअन्तर्गत आफ्नो रुसी तेल आयात घटाउने सहमति जनाउनुभएको दाबी गरेका छन् । तर, भारत सरकारको तर्फबाट सो दाबीको पुष्टि भएको छैन ।

स्टिल व्यवसायी लक्ष्मी निवास मित्तल र राज्य–स्वामित्वको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बीचको संयुक्त लगानीमा स्थापित एचएमइएलले हाल जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रूसी कच्चा तेलको थप खरिद अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको छ ।”

कम्पनीले सो निर्णय संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र बेलायतले रुसबाट तेल आयातमा नयाँ प्रतिबन्ध घोषणा गरेलगत्तै लिएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “एचएमइएलको व्यापारिक गतिविधि भारत सरकारको नीति र राष्ट्रिय ऊर्जा सुरक्षासँग पूर्ण रूपमा सुसङ्गत रहेको छ ।”

यसैबीच, रूसी तेलको अर्को प्रमुख भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि वासिङ्टन र इयुका ताजा प्रतिबन्धहरूको प्रभाव मूल्याङ्कन भइरहेको जनाएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी युरोपमा परिष्कृत पेट्रोलियम उत्पादनहरूको आयातसम्बन्धी इयुका निर्देशिका तथा भारत सरकारका दिशानिर्देशहरूको पूर्ण पालना गर्नेछौँ ।”

इयुले सन् २०२६ को अन्त्यसम्ममा रुसबाट तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । रिलायन्सले आफ्नो ‘परिक्षित र विविधीकृत कच्चा तेल स्रोत रणनीति’ का माध्यमबाट घरेलु र निर्यात दुवै बजारका आवश्यकताहरू पूरा गर्न र रिफाइनरी सञ्चालनलाई स्थिर राख्ने विश्वस्तता व्यक्त गरेको छ ।

लन्डनस्थित फाइनान्सियल टाइम्सले बुधबार प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार एचएमइएलले विगतमा त्यस्ता रूसी तेलका ढुवानीहरू प्राप्त गरेको थियो, जसमा प्रयोग भएका केही जहाजहरू पछि अमेरिका र इयुको प्रतिबन्ध सूचीमा सूचीकृत गरिएका थिए । तर कम्पनीले ती जहाजहरू आफैँले भाडामा नलिएको र सम्पूर्ण ढुवानी शृङ्खलामा आफ्नो सीमित दृश्यता रहेको स्पष्टीकरण दिएको छ ।

एचएमइएलले थप स्पष्ट गर्दै भनेको छ, “भारतमा कच्चा तेल पुर्‍याउने जहाजहरू डेलिभरीको समयमा अमेरिकी प्रतिबन्धको अधीनमा परेका थिएनन् ।”

विश्वका सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता देशमध्ये पर्ने भारत आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशतभन्दा बढी विदेशी स्रोतबाट प्राप्त गर्दछ । परम्परागत रूपमा मध्यपूर्वी उत्पादकहरूमाथि निर्भर भारतले सन् २०२२ देखि पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएका प्रतिबन्धहरूका बीच मस्कोको छुटमा उपलब्ध कच्चा तेल खरिद गर्दै आएको थियो । (रासस/एएफपी)

View : 224

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved