Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा ८ पदाधिकारी नियुक्त

पूविमा पूर्व निमित्त रजिष्ट्रार झाको नियुक्तिबारे चर्चा चुलियो

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) ले रिक्त रहेका आठवटा महत्वपूर्ण पदहरूमा नयाँ पदाधिकारी नियुक्त गरी पदस्थापन गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को गत मङ्सिर २५ गतेको निर्णयअनुसार पुस १ गते मङ्गलबार उनीहरूलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो।

यद्यपि, यी नियुक्तिहरूसँगै विश्वविद्यालयका पूर्व निमित्त रजिष्ट्रार राजेशकुमार झाको सम्भावित नियुक्तिलाई लिएर विश्वविद्यालय वृत्तमा व्यापक चर्चा र कौतूहल सुरु भएको छ। 
 

मङ्गलबार नियुक्ति पाई पदस्थापन हुनेहरूमा उपकुलपतिको सल्लाहकारमा दिनेशराज सुवदी, जीपी कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको निर्देशकमा शन्निकुमार साह,  सहपरीक्षा नियन्त्रकमा कविता अधिकारी, मेनुका श्रेष्ठ, प्रमोदकुमार यादव र सहायक प्राध्यापक ईश्वर भण्डारी छन् । 

यसैगरी पूवि इन्जिनियरिङ संकाय, विराटनगरको सहडिनमा ई देवलाल यादव र पूवि विज्ञान तथा प्रविधि संकाय, गोठगाउँको सहडिनमा नविन भट्टराई नियुक्त भएका छन् ।

राजेशकुमार झाको  ‘गोप्य’ नियुक्ति चर्चा

विश्वविद्यालयका पूर्व निमित्त रजिष्ट्रार राजेशकुमार झालाई अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा नियुक्त गर्ने निर्णय भइसकेको तर त्यसलाई हालसम्म सार्वजनिक नगरिएको चर्चा पूवि वृत्तमा व्याप्त छ। झालाई पूर्वाञ्चल विश्वविद्यालयको आन्तरिक संरचना राम्रोसँग बुझेका प्रभावशाली तर ‘विवादास्पद’ छविका व्यक्तिका रूपमा चिनिन्छ।

यस सम्बन्धमा जिज्ञासा राख्दा विश्वविद्यालयका प्रमुख प्रशासक फणिन्द्रराज गौतमले आधिकारिक रूपमा आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । यता, पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेलले पनि यसबारे चर्चा सुनेको तर आधिकारिक पुष्टि हुन बाँकी रहेको उल्लेख गरे ।

सामान्यतया पदाधिकारी नियुक्ति र कर्मचारी सरुवाका निर्णयहरू केही समय गोप्य राख्ने चलन भए पनि मङ्सिर २५ गतेकै बैठकबाट झाको पक्षमा निर्णय भइसकेको अनुमान सरोकारवालाहरूले गरेका छन्। झासँग यसबारे थप बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

विश्वविद्यालयमा नयाँ पदाधिकारीहरूको आगमनसँगै प्रशासनिक र प्राज्ञिक सुधार हुने अपेक्षा गरिए पनि झाको चर्चाले भने नयाँ बहस सिर्जना गरिदिएको छ।

View : 667

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved