Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

चिया निर्यातमा अवरोध हटाउन एमाले कोशीको आग्रह

उद्‌घोष संवाददाता
४ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । चिया निर्यातमा देखिएको अवरोधका कारण झापा र इलामका चिया उद्योग बन्द भएको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले समस्या समाधानका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष धनश्याम खतिवडाले बुधबार विज्ञप्ति जारी गर्दै चिया टिप्ने मुख्य सिजनमै इलामका ५३ वटा, झापाका ३६ वटा तथा पाँचथरका समेत चिया उद्योग पूर्ण रूपमा बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले उद्योग बन्द हुँदा करिब ६० हजार मजदुर प्रभावित भएको बताए ।

नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको चियाको निर्यातमा देखिएको समस्या तत्काल समाधान नभए किसानले उत्पादन गरेको चिया पत्तीको उचित मूल्य पाउन नसक्ने, उद्योग सञ्चालनमा कठिनाइ हुने तथा हजारौं श्रमिकको रोजगारी र आयआर्जनमा असर पर्ने एमालेले जनाएको छ ।

एमालेले कोशी प्रदेशमा ९८ प्रतिशत चिया उत्पादन हुने उल्लेख गर्दै चिया क्षेत्र प्रदेशको आर्थिक समृद्धिको महत्वपूर्ण आधार रहेको दाबी गरेको छ । चिया क्षेत्रमा बारम्बार देखिने संकटले प्रदेशको आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने एमालेको धारणा छ ।

यस्तो गम्भीर समस्यालाई भारतीय पक्षसँग कूटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन पहल गर्न एमालेले माग गरेको छ ।

त्यस्तै, दुई देशबीचको मित्रवत् सम्बन्ध, व्यापारिक सहकार्य र पारस्परिक हितलाई ध्यानमा राख्दै उत्पन्न समस्या वार्ता र संवादबाट समाधान गर्न भारतीय पक्षलाई समेत आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले चिया किसान, मजदुर तथा उद्योगी–व्यवसायीको पक्षमा आफू रहेको बताउँदै चिया क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहकार्य तयार रहेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

View : 185

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved