Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिर्सने रोग न्यूनीकरणका लागि सचेतना कार्यक्रम

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

Advertisement

विराटनगर  । ज्येष्ठ नागरिकहरूमा बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको बिर्सने रोग (अल्जाइमर्स डिमेन्सिया) सम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सोमबार विराटनगरमा सम्पन्न भएको छ। नेपाल ग्रामीण विकास समाज केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा विराटनगर क्षेत्रका १०५ जना ज्येष्ठ नागरिकहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले बिर्सने रोगको न्यूनीकरण र उपचारका लागि आवश्यक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिंदै भने, “आगामी बजेटमा स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकहरूका लागि उपयोगी र प्रभावकारी कार्यक्रमहरू समावेश गर्नेछ।”

सचेतना सत्रमा कोशी अस्पतालकी डा. सबिता खड्का र केन्द्रकी डा. सृष्टि खड्काले बिर्सने रोगका लक्षण, उपचार विधि र यसले निम्त्याउने मानसिक तथा पारिवारिक समस्याबारे जानकारी गराएका थिए। डा. सबिता खड्काले भनिन्, “डिमेन्सिया धेरै प्रकारका हुन्छन्, जसमध्ये अल्जाइमर्स समाजमा सबैभन्दा बढी देखिने समस्या हो। समयमै यसको पहिचान र उपचार सुरु गर्न सके रोगको जटिलतालाई निकै कम गर्न सकिन्छ।”

सहभागी ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्य समस्याका बारेमा चिकित्सकहरूसँग प्रत्यक्ष अन्तरक्रिया र प्रश्नोत्तर गरेका थिए।

नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष एवं कोशी प्रदेश ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मणिकुमार अज्र्यालले बहुसंख्यक ज्येष्ठ नागरिक बिर्सने रोगबाट पीडित भइरहेकाले विज्ञ चिकित्सकहरूमार्फत यो कार्यक्रम आयोजना गरिएको बताए। उनले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि सरकार, संघसंस्था र समाजका सबै वर्गको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

सो केन्द्रले ज्येष्ठ नागरिककै सेवाका लागि विराटनगरमा ‘ब्रह्मज्ञानी विश्रमालय’ सञ्चालन गरिरहेको केन्द्रका भरत लुइँटेलले जानकारी दिए। 

View : 498

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved