Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

डिग्री क्याम्पसका सहप्राध्यापक प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
११ मंसिर २०८२, बिहिवार

विराटनगर । सहपरीक्षा नियन्त्रक पदमा नियुक्ति  लिनका लागि आफूले पाउँदै नपाएको पिएचडी उपाधिको दाबी पेश गरेका डिग्री क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीराम प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको हो । उनीसहित थप तीन जनाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

डिग्री क्याम्पसमा समाजशास्त्र विषय अध्यापन गर्ने सहप्राध्यापक प्रसाईंले पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक पदमा नियुक्ति लिएका थिए ।

उनको झुटो उपाधि स्वीकार गर्ने छनोट समितिमा रहेका तीन प्राध्यापकहरु पनि अख्तियारको मुद्दा खेप्नेमा परेका छन् ।

छनोट समिति संयोजक प्राध्यापक डाक्टर जयालक्ष्मी प्रधान र सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा र प्राध्यापक डाक्टर मेघराज पोखरेल थिए । 

उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको छ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो ।

त्यस क्रममा छ जनाको आवेदन परेको थियो । प्रतिस्पर्धीहरूमध्ये एकजना छनोट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । 

प्रतिस्पर्धीहरुमध्ये एक प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडि डा. लेखेका थिए । पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए । 

उनले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको अभिलेखबाट देखिन्छ । तर, उनले उपाधि नपाउँदै पीएचडी गरेको भनी कागजात तयार पारे । विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउँथे ।

गत वर्ष  ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरे पनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो ।

उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ । यसरी लाभको पद लिन आफूले नपाइसकेको उपाधि पाएको दाबी पेश गरेर नियुक्ति लिएको अभियोगले सहप्राध्यापक प्रसाईंलाई अख्तियारको फन्दामा पुर्याएको छ ।

View : 379

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved