Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीका मेयर हेमकर्ण पौडेलले नगर शिक्षा ऐन किर्ते गरेको भन्दै उपमेयर चौधरीद्वारा विरोध

उद्घोष सम्वाददाता
३ चैत २०८०, शनिवार

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगरको ऐन नियम नै तोडमोड गर्दै काम गर्ने गरेको सोही उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले आरोप लगाएकी छन् ।

नेकपा एमाले इटहरी स्थानीय सभा दलले शुक्रबार मेयर पौडेलको कार्यशैलीको विरोधमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर पौडेलले नगरपालिकाले बनाएको विद्यालय शिक्षा ऐन नै किर्ते गरेर आफू अनुकूल बनाउन खोजेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा सहभागी भएकी उपप्रमुख चौधरीले शिक्षा ऐनको धारा १०२ लाई नगर प्रमुख पौडेलले नै तोडमोड गरेको आरोप लगाइन् । 

इटहरी उपमहानगरले २०७९ मा भएको नगरसभाले शिक्षा ऐन बनाएको थियो । सो ऐनको धारा १०२ मा ‘विद्यार्थीको पोसाक विद्यालयले कम खर्चिलो, साधारण, राष्ट्रियता झल्काउने र हावा पानी सुहाउँदो पोसाक तोक्न सक्ने छ’ भनी लेखिएको थियो’ चौधरीले भनिन्, ‘अहिले नगर प्रमुख पौडेलले सो धारालाई नै तोडमोड गर्नुभएको छ, यस बारेमा न मलाई थाहा छ न कार्यपालिकालाई नै ?’

नगरप्रमुख पौडेलले केही दिन अघि इटहरी उपमहानगरपालिकाका सबै विद्यालयहरूमा एकै प्रकारको पोसाक लगाउनु पर्ने भन्दै विद्यालयहरूमा परिपत्र गरेका थिए । 

सो परिपत्र विरुद्ध संस्थागत विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन र हिसानले फागुन २३ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

इटहरी उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटको सुनुवाइका क्रममा इटहरी उपमहानगरपालिकाको तर्फबाट बहस हुँदा स्थानीय शिक्षा ऐनको धारा १०२ नै संशोधन गर्दै अदालतमा शिक्षा ऐनको व्यवस्थालाई मेयर पौडेलको अनुकुल बनाएर बहस गरिएको थियो ।

सो धारामा विद्यालयको ठाउँमा नगरपालिका भनी संशोधन गरेको पाइएको छ । उप महानगरले बुझाएको ऐनको धारा १०२ मा ‘नगरपालिकाले विद्यार्थीको लागि एकै किसिमको कम खर्चिलो, साधारण, राष्ट्रियता झल्काउने र हावा पानी सुहाउँदा पोसाक तोक्न सक्नेछ’ भनी उल्लेख गरिएको छ । 

चौधरीले पत्रकार सम्मेलनमा भनिन्, ‘विद्यालयले पोसाक खरिद गर्ने स्थान वा पसल तोक्न पाउने छैन भनी अदालतमा पेस भएको हुँदा यस प्रति कार्यपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले नगर सभाबाट पारित ऐनको प्रतिकूल हुने गरी सम्मानित अदालतमा प्रमाण पेसको क्रममा भएको उक्त कार्यले कार्यपालिका लज्जित भएको बताइन् ।

View : 230

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved