Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मल अभावको सकसमा अन्नभण्डार : आफू दिदैन, ल्याउन पनि रोक्छ सरकार

उद्‌घोष संवाददाता
२९ असार २०८३, सोमवार

Advertisement

विराटनगर । मुलुककै अन्न भण्डार मानिने कोशी तराईंका तीन जिल्ला झापा, मोरङ र सुनसरीका किसान धान रोप्ने बेलामा मल अभावको सकसले सताइएका छन् । धमाधम रोपाइँ चलिरहेको समयमा रासायनिक मल, विशेष गरी डीएपीको चरम अभावले किसानलाई सताएको हो । 

मल खोज्दै चारैतिर दौडिरहेका किसानहरूका अनुसार रोपाइँ भइसकेका  खेतमा पनि मल नहाल्दा धानको बीउ हुर्किनै सकेको छैन । 

मल अभावले कोशी प्रदेशको कृषि अर्थतन्त्रलाई गम्भीर धक्का दिने देखिए पनि सरकारी वेवास्ता भने अझै उस्तै रहेको भन्दै किसान आक्रोशित छन् । 

‘धमाधम रोपाइँ चलिरहेको समयमा कहिँ कतै मल पाउन सकिएको छैन,’ झापा मेचीनगर–१५ का किसान धनबहादुर खत्रीले भने ‘नेपालमा मल नै छैन, भारततिरबाट ल्याउन सुरक्षाकर्मीले दिदैनन् । यो के गरेको सरकारले ?’ गाउँको सहकारीमा आउने डिएपी मल हात्तीको मुखमा जिरा जस्तो भएको उनको भनाइ छ । 

‘सरकारले कि पर्याप्त मात्रामा यही मल उपलब्ध गराउनुपर्छ,’ खत्रीले माग गरे ‘होइन भने, खेतमा हाल्नका लागि पारीबाट एक दुई बोरा मल ल्याउन रोक्नुभएन ।’

झापामा कुल खेतीयोग्य जमिन करिब ९८ हजार ७१६ हेक्टर छ भने धानखेती हुने क्षेत्र करिब ७५ हजार हेक्टरभन्दा बढी छ । 

मोरङमा झण्डै ८० हजार हेक्टर र सुनसरीमा ५५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान लगाउने गरिन्छ । 

यी तीन जिल्ला मिलाएर कोशी प्रदेशमा धान रोपिने कुल क्षेत्रफल दुई लाख ७६ हजार हेक्टरभन्दा बढी छ । तर, मल अभाव र समयमै पानी नपर्दा यो वर्ष रोपाइँ अत्यन्त सुस्त छ । रोपाइँ भएका ठाउँका किसानले पनि मल हाल्नै पाएका छैनन् । 

मोरङको ग्रामथान–५ का किसान रमेश दाहालले दुखेसो पोखे, ‘खेती त भइरहेको छ तर मल छैन । हामीजस्ता साना किसानलाई समस्यामाथि समस्या थपिएको छ ।’ 

उनका अनुसार धान रोप्नुअघि डीएपी हाल्नुपर्ने हो, मल नपाएपछि त्यसै रोप्नुपर्ने बाध्यता छ । यसले अब धानको बिरुवा कति बलियो हुन्छ, कति उत्पादन होला, चिन्ता लागिरहेको किसान बताउँछन् । 

कृषि कार्यालयमा लामो सेवापछि अवकाश प्राप्त कृषि प्राविधिक शालिक भट्टराईका अनुसार धान रोपाइँका बेला डीएपी मल  अत्यावश्यक मानिन्छ  । यसले जरा बलियो बनाउँछ र शुरुवाती वृद्धिमा सहयोग गर्छ । 

‘मल नहाल्दा बिरुवा कमजोर हुन्छन्, रोगकीरा लाग्ने सम्भावना बढ्छ र अन्ततः उत्पादनमा ठूलो ह्रास आउँछ,’ भट्टराईले भने ‘डीएपी अभावले प्रति हेक्टर उत्पादन २०–३० प्रतिशतसम्म घट्न सक्छ ।’ उनका अनुसार रासायनिक मलमा माटो अभ्यस्त भइसकेका कारण पनि मल ज्यादै जरुरी भइसकेको छ । 

कृषि सामग्री कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालयका निमित्त प्रदेश प्रबन्धक कमल पोखरेलका अनुसार आपूर्ति अपेक्षाकृत कम भएकाले माग धान्न सकिएको छैन । 

पर्याप्त मल नआएकाले सहकारीमार्फत सीमित मात्रामा मात्र वितरण भइरहेको छ । अहिले डीएपीको चरम अभाव छ भने युरिया केही वितरण भइसकेको छ । 

उनका अनुसार युरिया रोपाइँपछि करिब २२ दिनमा प्रयोग गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार कोलकाता बन्दरगाहमा डीएपीका पाँच कन्साइनमेन्ट आइपुगेका छन् ।

तीमध्ये करिब १ लाख ५० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिने तयारीमा छ । तर, ढुवानी, भन्सार प्रक्रिया र वितरणमा समय लाग्ने भएकाले किसानले तत्काल राहत पाउने सम्भावना छैन । 

उपलब्ध मलमध्ये करिब २०.६ प्रतिशत मात्र कोशी प्रदेश तथा मधेशका सिरहा र सप्तरीका लागि छुट्याइन्छ । 

स्थानीय मागका आधारमा शाखाले सिफारिस गरेपछि सहकारी र दर्ता भएका बिक्रेतामार्फत वितरण हुन्छ । 

उनका अनुसार मोरङमा मात्र धान सिजनका लागि करिब ५ हजार ५ सय मेट्रिक टन डीएपी आवश्यक पर्छ । तर हालसम्म जम्मा ४ सय मेट्रिक टन वितरण भएको छ भने ६० टन बिक्री प्रक्रियामा छ । 

यो आवश्यकताको तुलनामा निकै कम हो । झापा र सुनसरीको अवस्था पनि उस्तै छ । किसानहरू सहकारीमा घण्टौ लाइन बस्छन् तर मल पाउँदैनन् । 

कतिपयले महंगो मूल्यमा बजारबाट किनिरहेका छन् भने कतिपयले भारतीय सीमाबाट जोखिम मोलेर ल्याउने गरेका छन् । यो अभावले साना किसान सबैभन्दा बढी प्रभावित भएका छन् । 

पहुँचवालाले कुनै न कुनै तरिकाले मल जुटाए पनि साना किसानले भने त्यस्तो प्रबन्ध गर्न सकेका छैनन् । यसले खाद्यान्न उत्पादन घट्ने, किसानको आय घट्ने र देशभरि धानको मूल्य बढ्ने खतरा बढेको छ । 

कोशी प्रदेश नेपालको प्रमुख धान उत्पादक क्षेत्र हो । यहाँको उत्पादन घट्दा राष्ट्रिय खाद्य सुरक्षा नै प्रभावित हुन सक्ने कृषि क्षेत्रका जानकार बताउँछन् ।

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved