विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ ।
लैससास परीक्षण दिगदर्शन, २०७८ अनुसार एक सयवटा सूचकहरुरूको तोकिएको आधारमा स्व–मूल्यांकन गर्दा राम्रो अवस्थालाई १ अंक, मध्यम अवस्थालाई ०.५ अंक र अति कमजोर अवस्थालाई ० अंक दिइएको छ ।
पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ । आ.व. २०७७÷०७८ मा प्राप्तांक ५४ थियो भने आव २०७८÷०७९ मा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्दा एक सयवटा सूचकमा ७०.५ अंक प्राप्त भएको थियो ।
त्यसैगरी आ.व. २०७९÷०८० मा एक सय सूचकहरूमा कुल ७४.५ अंक प्राप्त भएकोमा आ.व. २०८०÷०८१ मा सो प्राप्तांक ७८ पुगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा सोमबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।
मूल्यांकनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु–सरोकारको विषय मात्र नभई अन्तरशाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको अनुभव लैससास परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक डा. चन्द्र उपाध्याय तिम्सिनाको निष्कर्ष रहेको छ ।
डा. तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभरि गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ ।
यद्यपि लैंगिक समानता एवं सामाजिक समावेशीकरणसम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्यांकको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीयकरण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ ।
यस सम्बन्धमा महानगरका मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताए ।
View : 45
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved