Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बराहक्षेत्रमा धरणीधर विवाह महोत्सव सुरु

उद्‌घोष सम्वाददाता
२२ पुष २०८१, सोमवार

सुनसरी । प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र धाममा धनुर्मास उत्सव अन्तर्गत धरणीधर विवाह महोत्सव शुभारम्भ गरिएको छ । उप–प्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले  आइतबार महोत्सवको उद्घाटन गरेका हुन् । 

बराहक्षेत्र मन्दिर परिसरमा पहिलो पटक धरणीधर महोत्सवको आयोजना गरिएको हो । 

बराह भगवान् र धरणीको बीचमा भएको विवाहको पौराणिक मान्यतालाई आत्मसाथ गरी बराहक्षेत्रधाममा विवाह महोत्सव आयोजना गरिएको पण्डित योगेश भण्डारीले बताए । 

आइतबार र सोमबार दुई दिनसम्म चल्ने धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्सवमा विशेष पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा आयोजना गरिनेछ । 

विवाह महोत्सव अन्तर्गत आइतबार गुप्तबराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने कार्य सम्पन्न गरिएको छ । 

सोमवार धरणी मातालाई बराह मन्दिर पुर्याएर १००८ घडा जलद्वारा भगवानको मङ्गल स्नान गरेपश्चात् स्वयंवर, कन्यादान, सिन्दूर दान लगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने पण्डित भण्डारीले बताए । 

धरणीधर विवाह उत्सवमा भारतसहित नेपालका विभिन्न स्थानबाट धर्मावलम्बीहरु आउने भण्डारीले बताए । यसैबीच बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएको छ । 

गत बर्षको बर्षादमा सप्तकोशी नदीमा आएको बाढीले  बराहक्षेत्र मन्दिर परिसर र बस्तीनै जोखिममा परेकाले संरक्षणको पहलका लागि ज्ञापनपत्र बुझाइएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । 

बराहक्षेत्र मन्दिर बाढी र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै दीगो तटबन्धको ब्यवस्था नगरे वराहक्षेत्रको अस्तित्व नै संकटमा पर्ने अध्यक्ष श्रेष्ठले जानकारी गराए । यस्तै १५ औं शताब्दीको इतिहास रहेको प्राचीन गुफा गुप्तबराहको पुनर्निर्माणमा सहयोग गरिदिन मन्त्री सिंह समक्ष ज्ञापनपत्र बुझाइएको छ । 

पण्डित योगेश भण्डारीको सक्रियतामा निर्माणाधीन गुप्तबराह बराहक्षेत्र मन्दिर र महात्म्यसँग सम्बन्धित रहेको छ । 

गुफाको जीर्णोद्धार गर्न र धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि सहयोगको अपेक्षासहित निर्माण समितिका संयोजक रविकुमार श्रेष्ठसँगै बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी सुनुवारले ज्ञापनपत्र बुझाएका हुन् ।

View : 72

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved