फलोअप
उद्दार अभ्यास तालिमका क्रममा गोताखोर बेपत्ता भएको स्थान ।
विराटनगर । बिहीबार अपरान्ह साढे ३ बजेतिर तालिम अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर प्रशिक्षक अझै फेला पर्न सकेका छैनन् ।
सशस्त्र प्रहरीले उनीहरूको खोजी जारी रहेको जानकारी दिएको छ ।
कोशी ब्यारेजको पश्चिम–उत्तर सप्तरीतर्फ प्रशिक्षार्थीहरूलाई अभ्यास गराउने क्रममा सशस्त्र प्रहरीका गोताखोर प्रशिक्षक सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् । साउद डोटी र राजवंशी झापाका हुन् ।
बेपत्ता गोताखोरको खोजीमा थप उद्दार टोली शुक्रबार विहानैदेखि परिचालन भइसकेको जनाइएको छ ।
सशस्त्र प्रहरीको मधेस प्रदेशको विपद्जन्य उद्धार टोलीको आयोजनामा उनीहरू प्रशिक्षार्थीहरूलाई प्रशिक्षण गराउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
यसैबीच, सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजी बेपत्ता भएका दुवै प्रहरीको खोजी जारी राखिएको बताएका छन् ।
उनले घटना भएको स्थानमा यसअघि पनि तालिम हुने गरेको स्थान भएकोले सुरक्षित रहेको दाबी गरेका छन् ।
बेपत्ता भएका गोताखोर कोशी नदीमै तालिम प्राप्त भएका प्रशिक्षक रहेको पनि उनले जानकारी दिए ।
‘उनीहरू कोशी नदीमै तालिम प्राप्त गरेका हुन्, तालिममा विपद्मा उद्धार कार्यमा संलग्न रहने सम्बन्धित उच्च अधिकृतहरु रहेका थिए’ प्रवक्ता धौवजीले भने, ‘यसअघि पनि तालिम त्यहीं हुने गरेको थियो, तालिमका क्रममा ब्यारेजको ढोका पनि बन्द गरिएको थियो, पानीको उच्च बहाव र धमिलोपनका कारण घटना भएको हुनसक्ने अनुमान छ ।’
View : 294
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved