Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

स्वास्थ्य बिमाको प्रचार गर्न टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता

उद्‌घोष संवाददाता
३ चैत २०८२, मङ्गलवार

विराटनगर । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बोर्डको १० औं वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसारसँगै स्वास्थ्य बिमाको महत्वबारे जनतालाई सचेत बनाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

बोर्डका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको भर्टिकल रिल्स फर्म्याटमा भिडियो तयार गर्नुपर्नेछ । 

सहभागीले तयार गरेको भिडियो आफ्नो टिकटक वा फेसबुक रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी पोस्ट गरिएको भिडियो चैत २ गतेदेखि १५ गतेभित्र बोर्डको आधिकारिक इमेलमा पठाउनुपर्ने बताइएको छ । 

बोर्डका अनुसार प्रतियोगितामा प्राप्त भिडियोलाई त्यसमा आउने लाइक, सेयर, कमेन्ट तथा भ्युजको संख्या, सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति र सामाजिक सन्देशका आधारमा मूल्यांकन गरिनेछ ।

स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेश संयोजक अर्जुन पण्डितका अनुसार सामाजिक सञ्जालको प्रयोगमार्फत स्वास्थ्य बिमाबारे व्यापक जनचेतना फैलाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । 

‘स्वास्थ्य बिमाको महत्व अझै धेरै नागरिकसम्म पुग्न बाँकी छ,’ उनले भने, ‘विशेष गरी युवामाझ सामाजिक सञ्जाल निकै प्रभावकारी माध्यम भएकाले सिर्जनात्मक भिडियोमार्फत स्वास्थ्य बिमाबारे सकारात्मक सन्देश फैलाउने अपेक्षा गरेको छ ।’

प्रतियोगितामा उत्कृष्ट तीन भिडियो छनोट गरी नगदसहित पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

बोर्डले स्वास्थ्य बिमालाई नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

View : 55

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved