Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रदेशस्तरीय सफ्ट टेनिस आजबाट

उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

विराटनगर । कोशी प्रदेशस्तरीय सफ्ट टेनिस खेल प्रतियोगिता हुने भएको छ । नेपालमा खेलको इतिहासमा सफ्ट टेनिसमा विराटनगरका खेलाडीले कीर्तिमान बढी राख्दै आएका छन् । 

फागुन १६ देखि १८ गतेसम्म विराटनगरको सहिद रंगशालास्थित सफ्ट टेनिसकोर्टमा हुने प्रतियोगिताका क्रममा १० जना पूर्व खेलाडीलाई पनि सम्मान गरिने भएको छ । आयोजक मोरङ जिल्ला सफ्ट टेनिस संघले गर्ने प्रतियोगितामा विराटनगरको नाम राख्ने पूर्व खेलाडीलाई सम्मान गर्न लागेको जनाएको छ ।

सम्मानित हुनेमा पूर्व खेलाडीमा हालका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरा, विराटनगर महानगरपालिकाका लेखा प्रमुख सञ्जीव भट्टराई, धनन्जय गुरुङ, मुकेश सिंह, मुकेश श्रीवास्तव, रामबहादुर लिम्बू, नारायणबहादुर तामाङ, किरण लामा र भुवन खतिवडा छन् । खेल छाडेपनि यस खेलमा चासो दिइरहनेहरुलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष श्यामकुमार लामाले बताए ।

बिगत तीन दशक भन्दा अघिदेखि सफ्ट टेनिसका प्रशिक्षक रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका राजेश बोहराका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहने छ ।

महिला एकल र जोडी तथा पुरुष एकल र जोडी गरी चार बिधामा खेलाइने खेललाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गर्ने कार्यक्रम  छ ।

खेललाई रोमाञ्चक बनाउने पूर्व खेलाडी तथा अग्रजहरु (भेट्रान) बीच पनि प्रतियोगिता गरिने भएको छ । समाजबा बिभिन्न क्षेत्रमा रहेर काम गरिहेका पूर्व खेलाडीबीच पनि प्रतिस्पर्धा हुने बताइएको छ । नेपालमा सबैभन्दा बढी सफ्ट टेनिसका खेलाडी विराटनगरबाटै उत्पादन हुँदै आएका छन् । चार वटा खेलको बिधाका प्रथमलाई १०, दोस्रोलाई ८, तेस्रोलाई ६ हजार रुपैंयाँ नगद पुरस्कार दिइने छ ।

नेपालमा तीन दशकको यस खेलको इतिहासमा अन्तर्राष्ट्रिय जगतमा सहभागिता जनाउने धेरै खेलाडी पर्छन् । जापान र कोरियामा खेल्न गएका नेपाली खेलाडीले खेलजीवनपछि त्यही देशमा रोजगारी पाएको लामो इतिहास छ । नेपाली खेलाडीले सफ्ट टेनिसमा अन्तर्राष्ट्रिय खेलमा धेरै पटक नाम राखेको सो खेलका रेफ्री राजेश लामिछानेले बताए ।

View : 294

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved