विराटनगर । जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउन कोशी अस्पताल, विराटनगरले विशेष ‘जेन्जी क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।
गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले उक्त क्लिनिक औपचारिक रूपमा सुरु गरेको हो ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रुणा झाले उक्त क्लिनिक कुनै नयाँ उपचार केन्द्र नभएर जेन्जी आन्दोलनका घाइतेहरूलाई तुरुन्त र प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने संयन्त्र भएको बताइन् ।
उनका अनुसार गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयको समन्वयमा आन्दोलनका क्रममा घाइतेका रूपमा परिचयपत्र प्राप्त गरेका व्यक्तिहरू अस्पतालमा आइपुग्ने बित्तिकै उनीहरूलाई सो क्लिनिकमार्फत छिटो उपचार सेवा प्रदान गरिनेछ ।
डा झाले भनिन्, ‘सीडीओ अफिसमार्फत गृह मन्त्रालयले घाइते परिचयपत्र जारी गरेको कार्ड बोकेका बिरामी अस्पतालमा आइपुग्दा उनीहरूलाई सम्मानका साथ छिटो उपचार सेवा दिने व्यवस्था गरिएको हो ।’
अस्पतालले क्लिनिक सञ्चालनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा हाडजोर्नी विभाग प्रमुख डा महेन्द्रप्रसाद महतो छन् ।
सदस्यहरूमा फिजिकल मेडिसिन विभाग प्रमुख डा सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा क्षितिज गिरी, अननि तथा बहिरङ विभाग इञ्चार्ज श्रीमती नविता शर्मा र वरिष्ठ अहेव. अधिकृत (सम्पर्क व्यक्ति) कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा छन् ।
समितिले अस्पतालमा आउने जेन्जी आन्दोलनका घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन र आवश्यक सुविधा सुनिश्चित गर्नेछ ।
साथै, विभिन्न विभागसँग मिलेर उपचार प्रक्रिया सहज र छरितो बनाउन कार्ययोजना तयार पार्ने जिम्मेवारी पाएको छ ।
डा. झाले थपिन्, ‘यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको एउटा समन्वयात्मक प्रणाली हो, जसले आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ शीघ्र उपचार दिलाउन मद्दत गर्नेछ ।’
स्वास्थ्य मन्त्रालयको पत्राचारपछि देशभरका प्रमुख अस्पतालहरूमा यस्तो व्यवस्था सुरु गरिएको छ ।
यो पहल जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सरकारी प्रयासको रूपमा लिइएको छ ।
View : 361
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved