विराटनगर । दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कूलले जितेको छ । शनिबार विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरी उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अभिषेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिदा साजन यादवले २ विकेट लिए ।
१ सय ८ रनको विजयी लक्ष्य पाएको अरनिकोले १७ ओभरमा ५ विकेट गुमाई विजयी लक्ष्य भेट्टाएको थियो । अरनिकोको जितमा म्यान अफ द फाइनल अभिषेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अभिषेक यादवले समान १–१ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अभिषेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए ।
विजयी तथा अन्य खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सुधीर अर्याल, मोरङ क्रिकेट संघका अध्यक्ष मोहमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।
View : 187
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved