Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा सामाजिक विकास मन्त्रालयका सचिवलाई कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की

कुटपिट गर्ने धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको बताएका छन् ।
उद्घोष सम्वाददाता
८ साउन २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराईलाई कुटपिट गर्ने र शौचालय थुन्ने धम्की दिएका छन् । 

कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले जानकारी दिए । कुटपिट गर्ने धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको बताएका छन् ।

पूर्वमुख्यमन्त्री कार्की विराट गोल्डकपका लागि आफूले घोषणा गरेको २५ लाख रुपैयाँ मन्त्रालयले भुक्तानी नदिएको आरोप लगाउँदै सचिव भट्टराईमाथि खन्निएका हुन् ।

‘कुट्ने पिट्ने र शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेको हो, मलाई बेलुका ४ः५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु’ सचिव भट्टराईले भने, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन, नदिएपछि त्यो रिस चैं मलाई पोख्नु भएको होला वहाँले, अर्थ मन्त्रालयमा रोकिने कुरा त हामीलाई भन्नु भएन नि, कुरो बुझेर गर्नुपर्यो नि ।’ 

उनले विराट गोल्डकपको पैसा भुक्तानीको माग आएपछि मन्त्रालयले अर्थ मन्त्रालयमा पैसा माग गरेको बताए । तर अर्थ मन्त्रालयले पुरानो भुक्तानी दिन सहमति नदिएको उनले प्रष्टिकरण दिए । 

पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । त्यस विषयमा कार्कीलाई सोध्दा उनले कुट्ने धम्की दिएको स्वीकार समेत गरेको जनाइएको छ ।

प्रतियोगिता सम्पन्न भएपनि मन्त्रालयले रकम निकासा नदिएको भन्दै विराट गोल्ड कप ट्रष्टका पदाधिकारीहरूले पूर्व मुख्यमन्त्री कार्कीलाई सोमबार गुनासो गरेका थिए । विराटनगरका कवि कवि भैरोदान सुरानाप्रति श्रद्धाञ्जली दिन पुगेका कार्कीले त्यहीबाट सचिव भट्टराईलाई टेलिफोन गरेर भुक्तानी रोकेको आरोप लगाउँदै कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको जनाइएको छ ।

कार्कीले मुख्यमन्त्री हुँदा आफैँले आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका थिए । आफू मन्त्री हुन्जेल भुक्तानीको प्रक्रियामा चासो नदेखाएका उनले अहिले सचिवलाई धम्की दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

भुक्तानीको प्रक्रियामा कानुनी जटिलता देखिएकोबारे कार्कीसमेत जानकार रहेको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ । कार्कीले उक्त रकमको भुक्तानीमा अप्ठ्यारो हुने भएपछि मन्त्रिपरिषद्बाट निर्णय गर्न समेत आग्रह गरिएकोमा आफु हुन्जेल कुनैपनि पहल नगरेको स्रोतको दाबी छ ।

‘गोल्डकपको पैसा भुक्तानी भएन, तिनीहरूको पैसा हामीले अर्थमा माग गर्यौं, अर्थले पुरानो भुक्तानी दिन सहमति दिएन, सहमति नदिएपछि हामीले पनि दिने कुरो भएन’ स्रोतले भन्यो, ‘अर्थले सहमति नदिएपछि हामीले क्याबिनेटमा प्रस्ताव लगेर निर्णय भएपछिमात्रै न हामीले दिने हो, निर्णय हुँदा पनि हामीले दिने होइन, खेलकुद विकास बोर्डमार्फत दिने हो ।’

View : 403

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved