Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बाल सुधारगृहका फरार १५ विज्याइँकर्ताको खोजी जारी

उद्‌घोष संवाददाता
२४ पुष २०८२, बिहिवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित बाल सुधारगृहबाट फरार भएका १५ जना बाल विज्याइँकर्ता अझै सम्पर्कमा आएका छैनन् ।

बिभिन्न मुद्दामा सुधारगृहमा रहेका २ सय ६ जना बाल बिज्याइँकर्ताहरु गत भदौ २५ गते भागेका थिए । त्यसमध्ये पक्राउ गरी ल्याइएका र आफैं फर्किएका एक सय ९१ जना पुगेका छन् । 

बाँकी १५ जनाको खोजी भैरहेको प्रहरीले बताएको छ । त्यस दिन ५० जनाको क्षमता भएको सुधारगृहमा २ सय ५५ जना थिए ।

बिभिन्न समयमा पर्खाल नाघेर तथा छानाबाट हाम्फालेर भागेकाहरु पक्राउ पर्दै आएकोमा पछिल्लो पटक ठूलो संख्यामा युवा र किशोरहरु नारा लगाउँदै भागेका थिए ।

सुधारगृहबाट ठूलो समूहमा निस्किएका उनीहरु बाटो थाहा नपाएर खेत, आली र नहरतर्फ भौंतारिएका थिए ।

फरार रहेकाहरुको खोजीका लागि मोरङ प्रहरीले टिम नै बनाएर सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । 

‘जबसम्म भेटिंदैनन् तबसम्म खोजी जारी रहन्छ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले भनिन्, ‘उनीहरुको तीनपुस्तेका आधारमा स्थायी र अस्थायी ठेगानाहरुमा खोजी भैरहेको छ ।’

फरार १५ मध्ये नौ जना जबरजस्ती करणी मुद्दाका छन् भने तीन जना लागुऔषध, दुई जना चोरी र एक जना कर्तब्य ज्यान मुद्दाका छन् ।

उनीहरुबाट पुनः अपराध हुन सक्ने सम्भावना रहेकाले प्रहरीले सम्भावित ठाउँहरूमा निगरानी नियमित गरिरहेको छ । उनीहरुको तीनपुस्ते हुलियाको आधारमा आफन्तका घरसम्म प्रहरीका सबै युनिटको निगरानी रहेको बताइएको छ ।

सुधारगृह प्रशासनका अनुसार युवा उमेर पुगेका बाल बिज्याइँकर्ता ७० जनालाई हाल मोरङ कारागारमा रहेको अलग्गै ब्लकमा राखिएको छ । हाल सुधारगृहमा एक सय ८५ जना छन् । 

तीमध्ये एक सय २० जना कक्षा ४ देखि स्नातकसम्म अध्ययनरत रहेको सुधारगृह प्रमुख सञ्जीव न्यौपानेले बताए ।

सुधारगृह भित्रै रहेको विद्यालयमा कक्षा ४ देखि १० सम्म पढाइ हुन्छ भने त्यहीं बसेर अध्ययन गरेकालाई माथिको परीक्षा भित्रैबाट दिलाइने ब्यवस्था छ । 

सुधारगृहमा रहेकामध्ये सबैभन्दा कम उमेर १२ वर्षका एक बालक जबरजस्ती करणी मुद्दाका रहेका छन् । १४ वर्ष उमेरका दुई जना सोही मुद्दाका र एक जना ज्यान मुद्दाका छन् ।

जबरजस्तीकरणी मुद्दाका सात जना र सामुहिक जबरजस्ती करणीका एक जना १५ वर्षका बालक छन् । 

१६ वर्ष उमेरका जबरस्ती करणी मुद्दाका २० जना, १७ वर्षका २२ जना, १८ वर्षका २० जना, १९ वर्षका २१ जना र २० देखि २२ वर्ष उमेरका ३६ जना रहेका छन् ।

सुधारगृहका दुबै ब्लकमा रहेका २ सय ५६ मध्ये एक सय ४० जना जबरजस्ती करणी मुद्दाका छन् ।

त्यसबाहेक सामुहिक जबरजस्ती करणी मुद्दाका आठ जना र अप्राकृतिक मैथुन मुद्दाका सात जना रहेका छन् । 

कर्तब्य ज्यान मुद्दाका ३० जना, ज्यान मार्ने उद्योगका १०, लागुऔषध मुद्दाका २८, चोरी मुद्दाका ११ जना तथा कर्तब्य ज्यान तथा डाका मुद्दाका छ जना रहेका छन् । 

सुधारगृहमा रहेकामध्ये एक सय ७६ जनाको मुद्दा फैसला भैसकेको छ भने ८२ जना पुर्पक्षमा छन् ।

क्षमताभन्दा झण्डै चार गुणाबढी मानिस रहेकाले संरचनाको अभावमा सानो एउटै कोठामा २५ जनासम्म सुत्न बाध्य छन् । एकै कोठामा ठूलो समुह बस्दा बिभिन्न रोगको संक्रमण एकबाट अर्कोमा छिट्टै फैलने गरेको बताइएको छ । 

त्यहाँ रहेकाहरुलाई जाडोयाममा समस्या रहेको छ । सामाजिक संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । 

गृहका लेखापाल कौशिला दाहालका अनुसार रोटरी क्लवको सहयोगमा एक सय ३५ वटा सिरक र ३५ जनालाई ज्याकेट प्रदान गरिएको छ । 

सामाजिक संस्थाको सहयोगमा थप न्यानो कपडा वितरण गरिने उनले जानकारी दिइन् ।

View : 138

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved