विराटनगर । अदालतको अवहेलना मुद्दामा कारवाही हुन सक्ने भएपछि मोरङको कटहरी गाउँपालिकाले नियन्त्रणमा राखेको ट्याक्टर छाड्न राजी भएको छ । सो ट्याक्टरको विषयमा अदालतमा चार वटा मुद्दा परेका थिए ।
कारवाही गर्न नियन्त्रणमा लिइएको ट्याक्टर छाड्न उच्च अदालतले दिएको आदेश गाउँपालिकाले कार्यान्वयन नगरेको विषयमा सजाय हुने देखिएकाले धनीलाई ट्याक्टर लिन आउन पत्राचार गरिएको छ । उच्च अदालत विराटनगरले अवहेलना मुद्दामा किन कारवाही नगर्ने ? भन्ने प्रश्नसहित कटहरीलाई लिखित जवाफ माग गरेको थियो ।
पाँच महिनाअघि नियन्त्रणमा लिइएको ट्याक्टर लिन आउन कटहरीले धनी गणेश मलाहालाई सोमबार पत्राचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहद्वारा प्रेसित पत्रमा ट्याक्टरको स्वामित्व खुल्ने गरी कागजातसहित १५ दिनभित्रमा कटहरी गाउँपालिकामा सम्पर्क राख्न जानकारी गराइएको छ ।
अदालतको आदेशपछि ट्याक्टर लिन नआई मलाहाले अनर्गल प्रचार गरेको पत्रमा जनाइएको छ । ट्याक्टरधनी मलाहाले भनें क्षतिपूर्ति बिना ट्याक्टर नलिने बताएका छन् । उनले क्षतिपूर्तिको मुद्दा विचाराधिन रहेकाले अहिले ट्याक्टर नलिने उद्घोषलाई बताए । मलाहाले दैनिक ५ हजार रुपैंयाँ ट्याक्टरबाट कमाइ हुने गरेको र त्यसैको कमाइले परिवार चलेको बताएका छन् ।
धनपालथान गाउँपालिका र कटहरीको सिमानामा पर्ने लोहान्द्रा खोलाको माटो उत्खनन्मा गैर कानुनी प्रयोग भएको जनाउँदै गत फागुनमा कटहरीले एउटा ट्याक्टर र त्यसमा जडित माटो खन्ने उपकरण नियन्त्रणमा लिएको थियो ।
खोलाको भरौट र बालुवा निकाल्न धनपालथानबाट इजाजत पाएको कम्पनी आरसी सप्लायर्स एण्ड कन्ट्रक्सनले प्रयोग गरेको ट्याक्टर र उपकरणलाई कटहरीले एक–एक लाख रुपैंया जरिवाना गर्ने निर्णय गरेको थियो । निर्णयबिरुद्ध मलाहाले अदालतमा मुद्दा हालेका थिए ।
उनको मुद्दामा अदालतले ट्याक्टर छाड्न कटहरीलाई आदेश गरेको थियो । मलाहाले ट्याक्टरको दैनिक ५ हजार रुपैंयाँका दरले क्षतिपूर्ति कटहरीले दिनु पर्ने माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । अपहेलना र क्षतिपूर्ति दुबै मुद्दाका लागि आगामी २ गते अदालतले तारिक दिएको छ । त्यसपछि अदालतको फैसला आउने मलाहाको भनाइ छ ।
View : 232
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved