Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

‘सर्वहारा’ नेताहरूको काठमाडौँमा घरैघर

उद्घोष सम्वाददाता
२९ कार्तिक २०८१, बिहिवार

विराटनगर । आफूलाई सर्वहारा नेता भन्ने कम्युनिष्ट नेताहरूले केही वर्ष सरकारी ओहोदामा बसेकै भरमा काठमाडौँमा घरघडेरी जोडेको पाइएको छ । सिंहदरबारको अधिकार प्रदेशमा मुकर्रर गर्न भनेर प्रदेशतिर झरेका वहालवाला तथा पूर्वमुख्यमन्त्रीहरू यो मामिलामा झन् अगाडि देखिएका छन् ।

लामो समय काठमाडौँको डेरामा बसेर विद्यार्थी राजनीति गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पहिलो पटक आन्तरिक मामिला तथा कानून मन्त्री भएपछि ललितपुरमा घरघडेरी किन्न सफल भएका छन् । उनको झापा गौरादहस्थित पैतृक सम्पत्तिको आयस्ताले संघीय राजधानीमा घरघडेरी जोड्न मुस्किल भएपनि कार्कीले मन्त्री भएपछि त्यो हैसियत बनाउन सकिन्छ भन्ने देखाएका छन् ।

झापा प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५(१) बाट निर्वाचित कार्की पहिलो पटक २०७४ सालमा शेरधन राईको नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री भएका थिए । उनले मन्त्री हुँदा तत्कालीन प्रदेश नं. १ का प्रहरी कार्यालयहरूका लागि भनेर मन्त्रालयबाट भारी संख्यामा सवारीसाधनहरू खरिद गरेका थिए । सवारीसाधन खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको त्यतिखेर नै गाइँगुइँ सुनिएको थियो ।

मन्त्री कार्कीले मन्त्रालयबाट सवारीसाधन र श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ४ हात्तीवन सेतीपाखामा घर खरिद गर्ने प्रक्रिया सँगैसँगै अगाडि बढाएका थिए । दुवै प्रक्रिया सँगसँगै हुनु संयोगमात्रै पनि हुन सक्ने एक एमाले कार्यकर्ता बताउँछन् । 

आफूले कार्कीको वित्तीय आयतन बढेको उनले घर खरिद गरेपछि मात्रै थाहा पाएको उनले बताए । ‘एकातिर कार्की मन्त्री हुँदा सवारीसाधनको खरिदमा ठूलो रकमको चलखेल भएको हल्ला चल्नु, अर्कोतिर मन्त्रीले घर किने रे भनेर हाम्रा कानले सुन्नु, आशा गरौँ बाख्रा हराउनु र चितुवा कराउनुजस्तो पनि नहुन सक्छ’ उनले भने ।

अहिलेका मुख्यमन्त्री तथा तत्कालीन समयका क्याबिनेट मन्त्री हिक्मतकुमार कार्की स्वयंले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ललितपुरमा आफ्नो घर भएको खुलाएका छन् । उक्त घर किन्न एभरेष्ट बैंकबाट ९० लाख ऋण लिएको मन्त्रालयको वेभसाइटमा उनले २०७७ सालमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यसपछि प्रत्येक वर्षको आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भने उनले पूरा गरेका छैनन् । जसका कारण उनको थाप्लोमा अझै ऋण छ वा ऋणमोचन भइसकेको छ, आम नागरिकले थाहा पाउन सकेका छैनन् ।

यस्तै, प्रदेशको पहिलो संस्थापक मुख्यमन्त्री शेरधन राईको पनि काठमाडौँ बूढानीलकण्ठ हात्तिगौंडामा घर भएको बुझिएको छ । पहिलो पटक संघीय सरकारको सञ्चार मन्त्री हुँदा उनले उक्त स्थानमा घर किनेको स्रोतको दावी छ । 

तर राईले सो घर आफ्नो नाममा खरिद नगरी आफ्ना विश्वासिला अमर सापकोटाको नाममा किनेको स्रोतले बतायो । भोजपुर हतुवागढीका सापकोटा पर्यटन व्यवसायी हुन् । पूर्वमुख्यमन्त्री राईले भने उक्त घर आफ्नो नभई सापकोटाको भएको र आफू बहालमा बस्ने गरेको उनका निकटस्थहरूलाई बताउने गरेको स्रोतको भनाइ छ ।

‘ठिकै छ बहालमै बसेको भए पनि केही फरक परेन,’ स्रोतले भन्यो, ‘तर घरपेटीलाई भाडा पनि नदिने, घर मेरो हो पनि नभन्ने, अनि के बुझ्ने ?’ मुख्यमन्त्री हुँदा राईले भोजपुर आमचोक वडा नं. ३ मा आफ्नो केही पैतृक सम्पत्ति बुबाको नाममा भएको विवरण सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भैंसी २ वटा, हलगोरु–१, खसी–बोका–बाख्रा १५ र बंगुर–२ पनि उल्लेख छ । मुख्यमन्त्री हुँदा आफूभन्दा निकै कम उमेरकी युवतीसँग विवाह गरेर आलोचना खेपेका राईले त्यसपछि हेलिकप्टर चढेर ससुराली पुगे भनेर पनि आलोचना खेप्नुपरेको थियो ।

दौरासुरुवाल–कोट तथा सुटमा चिटिक्क परेर हिँड्ने राई विगतमा अत्यन्त संघर्ष गरेर अहिलेको मुकाममा आइपुगेका सर्वहारा नेता हुन् । उनलाई चिन्नेजान्नेहरू कुनै समय काठमाडौँमा हजार पाँच सयको डेराको जिन्दगी गुजारेका राईले जीवनशैलीमा क्रान्तिकारी छलाङ मारेको बताउँछन् ।

यस्तै तत्कालीन प्रदेश नं १ मा थोरै समय मुख्यमन्त्री भएका भीमप्रसाद आचार्यले पनि काठमाडौँमा लामो समयसम्मको डेराको जिन्दगीलाई आफ्नै निजी घर र बन्दोबस्तीमा रुपान्तरण गरेका छन् । उनले पछिल्लो वर्ष भक्तपुरको सानोठिमीमा आफ्नै घर बनाएर कौशलटारसम्मको अन्तिम डेरा यात्रालाई विश्राम दिएका छन् ।

आचार्यको सानोठिमीको सीटीईभीटीभित्र नालान्द स्कूलछेउ आफ्नै घर छ । सुनसरी क्षेत्र नं. २ का संघीय सांसद आचार्य सपत्नी जनप्रतिनिधि हुन् ।

उनकी पत्नी निरा आचार्य खनाल पनि प्रदेश सभाको समानुपातिक सांसद छन् । नेकपा एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीको भागमा परेर प्रदेशको मुख्यमन्त्री भएका राजेन्द्रकुमार राईको भने राजधानी उपत्यकामा घर नभएको बुझिएको छ ।

यद्यपि विद्यार्थी राजनीति गर्दाताका नै नुवाकोटे कार्यकर्तासँग मायापिरती गरेका कारण राईलाई काठमाडौँमा बस्न, खान भने हाइसञ्चो भएको बताइएको छ । काठमाडौँमा उनी पत्नी शोभा पाठकको ताहाचलस्थित माइतीघरमा भाडा तिर्ने शर्तमा बस्ने गरेको स्रोतले बतायो । 

‘उनी काठमाडौँ जाँदा ताहाचलको एउटा घरको तेस्रो तलाको तीन कोठा भएको फ्ल्याटमा बस्छन्’ स्रोतले भन्यो । यसैबीच, राजनीतिक जीवनमा सधैँजसो जनताको बहुदलीय जनवादको महत्वपूर्ण विशेषता भनेर औंला भाँचीभाँची बुँदागतरुपमा अथ्र्याउने नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले पनि भक्तपुरमा घर खरिद गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली बसेको बालकोटकै बगलामुखी मन्दिर क्षेत्रमा उनको अढाइतले घर छ । बराल तिनै नेता हुन् जसले माक्र्सवाद र अन्तर्राष्ट्रिय सर्वाहारावादका बारे कार्यकर्ताहरूलाई छर्लङ्ग हुनेगरी बुझाउने क्षमता राख्छन् । 

‘सर्वहाराहरूसँग जित्नका लागि संसार छ, हार्नका लागि केवल हत्कडी छ’ भनेर आमजनतालाई क्रान्तिमा लाग्न उत्साह भर्ने बराललगायतहरूको यसबीचमा भएको वर्गोत्थानले क्रान्ति साँच्चै सफल भएको हो कि भनेर आफूलाई लागेका एक एमाले कार्यकर्ता बताउँछन् ।
 

View : 136

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved