विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ गतेदेखि हुने निश्चित भएको छ । प्रतियोगिताको आवश्यक तयारी समेत अघि बढेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्ट आफैंले गर्न लागेको हो ।
कोशी प्रदेशमा रात्रिकालिन फुटबल खेलको सुरुवात गर्ने एकमात्र विराट गोल्डकप हो । यस पटक पनि रात्रिकालिन प्रतियोगिताका लागि आवश्यक तयारी अघि बढाइएको ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले बताए ।
शहीद रंगशालामा हुने प्रतियोगिताका लागि आयोजकको तर्फबाट सांग्रिला मोरङ फुटवल एसोसिएशनसहित १० वटा टिम रहने जनाइएको छ । प्रतियोगितामा साउथर्न समिति फुटबल संघ कोककाता भारत, सिक्किम ड्रागन फुटबल क्लव सिक्किम भारत, आरटीसी फुटबल क्लव थिम्पु भुटान आमन्त्रित टोली हुनेछन् ।
त्यसैगरी विभागीय दुई टिमहरुमा नेपाल पुलिस क्वल, सशस्त्र प्रहरी फुलबल क्लव र त्रिभुवन आर्मी फुटबल क्लव हुनेछन् । मच्छिन्द्र फुटबल क्लव, एनआरटी क्लव र चर्च व्वाइज फुटबल क्लवले खेल्ने जनाइएको छ ।
अघिल्लो बर्ष विराटनगरकै निजी फुटबल क्लवलाई प्रतियोगिता नै भाडामा लगाएको आरोप खेपेको ट्रष्टले यस बर्ष भने आफैं प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि शहीद रंगशालाको मर्मत सम्भार र सरसफाईको काम सुरु भएको जनाइएको छ ।
प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिवद्धता गरेको जनाइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रुपैयाँ प्राप्त हुने आयोजकको दाबी छ ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाइएको छ ।
रात्रिकालिन प्रतियोगिता भएका कारण अहिले शहीद मैदानमा जडान गरिएको फ्लड लाइजको चेकजाँचको काम सुरु गरिएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद २१ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
View : 252
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved