इटहरी । इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस संचालनको अन्तिम तयारी गरिरहेको छ । उपमहानगरले चीनबाट खरिद गरेका चार वटा विद्युतीय बस इटहरी आइपुगेका छन् ।
उपमहानगर भरी नगरबासीलाई सहज र सरल रूपमा यातायात सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । बस असोज १ गतेबाट संचालनमा ल्याउने तयारी गरेको उनले बताए ।
‘चार वटा बसले इटहरीको चार वटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा मात्रै बस चल्ने उनको भनाइ छ ।
नागरिकको सहजताका लागि संचालनमा ल्याउन लागेका विद्युतीय बस सहज रूपमा संचालन गर्ने तयारी भएको जनाइएको छ । बसमा जीपीएस जडानका साथै आधुनिक सूचना प्रणालीमैत्री बनाइने र सीसी क्यामेरा लगायतका थुप्रै सुविधा हुने दाबी गरिएको छ ।
नगर बस सञ्चालनका लागि वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर आवश्यक तयारी भइरहेको र सोही समितिले रुट पनि निर्धारण गर्ने जनाइएको छ ।
चारवटै नगर बस अपाङ्गमैत्री भएको दाबी गरिएको छ ।
उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग चार वटा नगर बस किन्ने सम्झौता गरेको थियो । २०८० फागुन ८ मा उपमहानगरपालिकाले उक्त कम्पनिसँग ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता गरेको थियो ।
View : 175
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved