विराटनगर । मोरङमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । पहिलो चरणमा फागुन १३ र दोस्रो चरणमा फागुन २९ गतेदेखि खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
कार्यालयले आगामी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको हो । पहिलो चरणमा मिक्लाजुङ, लेटाङ, केराबारी, बेलबारी, सुन्दरहरैंचा, विराटनगर, जहदा, कटहरी, बुढीगंगा र ग्रामथानमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी दोस्रो चरणमा धनपालथान, रंगेली, सुनबर्षी, रतुवामाई, उर्लाबारी, कानेपोखरी र पथरीशनिश्चरेमा खोप अभियान सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जहदाबाट खोप अभियानको औपचारिक सुरुवात गरिने बताए ।
सरकारले तराईका २१ र काठमाडौं उपत्यकाका ३ सहित २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका र अन्य सबै जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागेको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङसहित सुनसरी र झापामा भने ९ महिनादेखि १५ वर्ष मुनिकालाई खोप लगाइने छ । बाँकी ११ जिल्लामा ९ देखि ५ वर्ष मुनिकालाई खोप दिइनेछ ।
मोरङमा २ लाख ८१ हजार २६३ जना लक्षित जनसंख्यालाई १ हजार ५८८ वटा खोप केन्द्रबाट दादुरा–रुबेला खोप दिइने तयारी रहेको डा मेहताले बताए । उनले मोरङमा दुई डोज खोप लगाएका व्यक्तिमा पनि पुनः दादुरा रुबेला देखिएकोले अभियान सञ्चालन गरिएको जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक जिसस मोरङका प्रमुख अजम्बर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख उषा झा, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, निजी अस्पतालहरूको संस्था अफिनका कोशी प्रदेश अध्यक्ष डा.शंकर अधिकारी लगायतले खोप अभियान चुनौतीबारे धारणा राखेका थिए ।
View : 205
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved