विश्वकप फुटबल-२०२६
विराटनगर । विश्व फुटबल इतिहासकै दुई सर्वकालीन महान खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो आफ्नो सुनौलो करिअरको अन्तिम प्रहरमा आइपुगेका छन् ।
झन्डै दुई दशकसम्म फुटबल जगतमा एकछत्र राज गरेका यी दुई महारथि सन् २०२६ को विश्वकपमा आ–आफ्नो देशको जर्सी लगाएर अन्तिम पटक मैदानमा उत्रिदै छन् ।
यो कुनै नयाँ कीर्तिमान बनाउने दाउ मात्र होइन, बरू विश्वभरका करोडौं प्रशंसक र आफूलाई जिन्दगीमा सबथोक दिने हरियो मैदानलाई खेलाडीका रूपमा दिइने एउटा भव्य र भावुक बिदाइ अर्थात ‘लास्ट डान्स’ हुनेछ ।
अर्जेन्टाइन सुपरस्टार मेसी र पोर्चुगिज स्टार रोनाल्डोमध्ये को महान भन्ने विवाद आज पनि उत्तिकै छ ।
विश्वकपसहित सबैथरी उपाधि जितेका मेसी र विश्वकप जित्न नसकिरहेका रोनाल्डोबीच तुलनता सम्भवतः अरू धेरै समयसम्म भइरहने छ, जसरी पेले र म्याराडोनाको अझै पनि भइरहेको छ । तर, मेसी र रोनाल्डोले खडा गरेको कीर्तिमानहरूको पहाड यति यति अग्लो भइसकेको छ कि त्यसलाई भेट्न मात्रै पनि आगामी पुस्तालाई दशकौं लाग्न सक्छ ।
संसारकै सर्वश्रेष्ठ फुटबल खेलाडीलाई दिइने प्रतिष्ठित ब्यालोन डोर पुरस्कार मेसीले इतिहासमै सबभन्दा बढी ८ पटक जितेका छन् । उनले ६ पटक युरोपेली गोल्डेन बुट र २ पटक विश्वकप गोल्डेन बल जितेका छन् ।
आफ्नो करिअरमा ९१० भन्दा बढी आधिकारिक गोल र ४१० भन्दा बढी असिस्ट गरेका मेसीको नाममा सन् २०१२ मा एकै क्यालेन्डर वर्षमा ९१ गोल गरेको विश्व कीर्तिमान छ ।
बार्सिलोना, पीएसजी र इन्टर मायामी गरी उनले ४६ भन्दा बढी ठूला उपाधि आफ्नो पोल्टामा पारिसकेका छन् ।
त्यस्तै ५ पटकका ब्यालोन डीओर र ४ पटकका युरोपेली गोल्डेन बुट विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । ५ वटा फरक–फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोलाई युरोपेली च्याम्पियन्स लिगको राजा पनि भनिन्छ, जहाँ उनले १८३ खेलमा १४० गोल गर्दै ५ पटक उपाधि जितेका छन् ।
यी दुवै खेलाडीको जीवन सधैं सुखद मात्र रहेन । मेसीले बाल्यकालमा ‘ग्रोथ हर्मोन डिफिसेन्सी’ जस्तो गम्भीर रोगसँग लड्नुप¥यो । जसको उपचार खर्च बेहोर्ने सर्तमा उनी १३ वर्षकै उमेरमा बार्सिलोना पुगे ।
पछि देशका लागि लगातार फाइनल हार्दाको मानसिक तनाव सहन नसकेर २९ वर्षकै उमेरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा समेत गरे । तर फ्यानहरूको अथाह मायाले उनी मैदान फर्किए ।
सन् २०२१ मा २१ वर्ष बिताएको आफ्नो घर बार्सिलोना आर्थिक कारणले रूदै छाड्नुपर्दाको क्षण फुटबल इतिहासकै सबैभन्दा कारूणिक क्षण बन्यो ।
यता, पोर्चुगलको सानो टापु मडेराको एक गरिब परिवारमा जन्मिएका रोनाल्डोका बुबा माली र आमा भान्से थिइन् ।
सानैदेखि बलसँगै सुत्ने र उठ्ने रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनले निखारेका हुन् । रोनाल्डोका लागि सन् २०२२ को कतार विश्वकप निकै पीडादायी बन्यो ।
मोरक्कोसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिंदा मैदानबाट बाहिरिने टनेलमा उनी एक्लै रोइरहेको दृश्यले संसारलाई स्तब्ध बनाएको थियो ।
धेरैले उनको यात्रा सकिएको लख काटेका थिए, तर उनी ४१ वर्षको उमेरमा आफ्नो छैटौं विश्वकप खेल्न फेरि तयार भएका छन् ।
समयको गतिसँगै दुवैको भूमिका र खेलशैली बदलिएको छ । ३८ वर्ष पुगेका मेसी अब मैदानमा शारीरिक रूपमा भन्दा मानसिक रूपमा बढी सक्रिय हुन्छन् ।
उनी विपक्षी ‘डिफेन्स’ को साना गल्ती नियाल्दै अचानक एउटै यस्तो जादुमयी पास निकाल्छन्, जसले खेलको नक्सा बदलिदिन्छ ।
सन् २०२२ मा विश्वकप जितेपछि उनको काँधबाट हिमालजत्रो भारी हटेको छ र उनी दबाबमुक्त भई फुटबलको वास्तविक आनन्द लिदै खेलिरहेका छन् ।
अर्कोतर्फ, साउदी अरबको अल–नासर क्लबमा रहेका रोनाल्डो अझै थाकेका छैनन् । उनी अहिले मुख्य तीन वटा लक्ष्यमा दृढ छन् ।
व्यावसायिक फुटबलमा १००० गोल पु¥याउने पहिलो खेलाडी बन्ने (हालसम्म ९७३ गोल गरिसकेका छन्), आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग व्यावसायिक खेल खेल्ने र आफ्नो करिअरमा बाँकी रहेको एकमात्र उपाधि विश्वकपको सुनौलो ट्रफी उचाल्ने ।
नेपालका लागि पनि यी दुई खेलाडी भावना र संस्कृति बनिसकेका छन् । स्कुलको चउरदेखि चियापसलसम्म मेसी कि रोनाल्डो भन्ने विषयमा घन्टौं बहस गर्ने एउटा सिंगो पुस्ता नेपालमा हुर्किएको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ को विश्वकप यी दुवै महानायकका लागि आफ्नो विरासतको अन्तिम छाप छोड्ने अवसर हो ।
खेल जित्नु वा हार्नु आफ्नो ठाउँमा छ, तर जब यो विश्वकपको अन्तिम सिटी बज्नेछ, तब संसारभरका करोडौँ फ्यानहरू आँसु र मुस्कानसहित फुटबलको एउटा स्वर्णिम युगलाई बिदाइ गर्दै मनैदेखि भनिरहेका हुनेछन् ‘धन्यवाद, मेसी, धन्यवाद रोनाल्डो !’
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved