बेतौनालाई नमूना गाउँ बनाउने अभियान
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ परिवारलाई बिउ पूँजी स्वरुप १० जोरका दरले ९० जोर परेवा दिएको छ ।
परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका–३ बेतौनाका अति विपन्न परिवारलाई १० जोरका दरले परेवा हस्तान्तरण गरेको हो । लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्तरण गरेको जनाइएको छ ।
जीवन विकासका संस्थापक एवं मोरङको क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवा हस्तान्तरण गरेका हुन् । विपन्न परिवारलाई परेवा हस्तान्तरण गर्दै सांसद मण्डलले परेवा पालनलाई उद्योगको रुपमा विकास गर्न आग्रह गरेका छन् । एक सय जोर परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताउँदै उनले भने, ‘यो १० जोर परेवालाई बीउ पूँजी मानेर उद्योगको रुपमा विस्तार गर्नुहोला ।’
विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने बताए । विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने पनि बताए ।
व्यवसायिक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि परेवा पालनका लागि प्रोत्साहन गरिरहेको उनले बताए । सांसद मण्डलले आफैं पनि विपन्न परिवारलाई आत्मनिर्भर बनाउनका लागि विगतदेखि नै परेवा वितरण सुरु गरेका थिए ।
लघुवित्तले धनपालथान गाउँपालिका–३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियान अन्तरगत काम गरिरहेको जनाइएको छ । सोही अभियान अन्तरगत अति विपन्न परिवारलाई परेवा बिउ पूँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले बताए ।
विपन्न परिवारलाई परेवा हस्तान्तरण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो । पहिलो चरणमा खोर निर्माण गरेका ९ परिवारलाई परेवा हस्तान्तरण गरेको उनले बताए ।
परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि पाएको परेवा संरक्षणका लागि परिवारले चासो दिनुपर्ने लघुवित्तका जोखिम व्यवस्थापन विभाग प्रमुख शिवकुमार रामले बताए । स्थानीय आफै सचेत भएमात्रै परेवा व्यवसाय फस्टाउने बताए ।
स्थानीय धामो आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले गाउँका अतिविपन्न परिवारले परेवा पालन बिस्तार गरे आफ्नो आर्थिक हैसियत उकास्न सक्ने बताए ।
लघुवित्तका कर्सिया शाखा प्रमुख गायत्री पोखरेलले उद्यमशीलता विकासका लागि प्रदान गरिएको परेवा पालनको अवस्थाका बारेमा लघुवित्तले अनुगमन गर्ने बताइन् ।
View : 686
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved