Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दुहवी र इटहरीमा हुन लागेकाे मुस्लिमहरुको इज्तेमा स्थगित

उद्‌घोष सम्वाददाता
४ मंसिर २०८०, सोमवार

इटहरी : सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुस्लिम अगुवाहरुले सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् । दुहबी र इटहरीमा हुन लागेको इज्तेमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको मुस्लिम अगुवाहरुले बताएका छन् ।

मुलुकको कानुन र सरकारको निर्णयको कदर गर्दै तत्कालका लागि इज्तेमा कार्यक्रम स्थगन गर्ने सहमति जुटाइएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

सरकारले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै तत्काललाई कार्यक्रम नगर्नु नगराउनु भनेकाले सोही अनुरुप आफूहरु कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेको कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले जानकारी दिए । 

देशको वर्तमान परिस्थिति र घटनाक्रमले शान्ति सुरक्षामा चुनौति देखिएकाले मुस्लिम अगुवाहरुको भेलाले इज्तेमाका सबै कार्यक्रम तत्काललाई स्थगन गर्ने निर्णय गरेको उनीहरुको भनाई छ । मुस्लिम अगुवाहरु गफार अन्सारी, ऐयुब अन्सारी, हाजी अब्दुल, अलाउद्दिन मियाँ, मेहदी हुसेन लगायतकाले सरकारी निर्णय स्विकार्दै तत्काललाई कार्यक्रम स्थगन गरिएको बताएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गते सम्म मुस्लिम धर्म सभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम गर्न अनुमति दिएको थिएन ।

गृहको पत्रका आधारमा जिल्ला प्रशासन कार्यलय सुनसरीले स्थानीय तह र आयोजकलाई कार्यक्रम सञ्चालनको इजाजत नरहेको व्यहोराको पत्राचार गरेको थियो । गृहको पत्रका आधारमा सुनसरी प्रशासनले कार्यक्रमको इजाजत दिन नसकिने जनाएपछि आयोजकले कार्यक्रम छोट्याएर परिधिमा रही इज्तेमा सञ्चालनको पहल सुरु गरेका थिए ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर छलफलसमेत गरेका थिए । उक्त छलफलमा सुरक्षा संबेदनशीलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले स्विकृती दिन नसकिने दोहोर्‍याएपछि आयोजक पक्ष तत्काललाई कार्यक्रम स्थगन गर्नर् ेनिर्णयमा पुगेको हो ।
 

View : 251

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved