उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी–गाईघाट सडकखण्डमा पर्ने अँधेरीमा यात्रुवाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुंगे डिलक्स बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
दुर्घटनामा उदयपुरगढी नगरपालिका–७ की ७३ वर्षीया सोममाया तामाङ र कटारी नगरपालिका की ६० वर्षीया सोममाया परियार गम्भीर घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको र अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
अन्य घाइतेहरूमा ताप्ली गाउँपालिका की २८ वर्षीया मोनिका मगर, ४० वर्षीय प्रकाश भुजेल र २८ वर्षीय सुवास नेपाली रहेका छन् । त्यस्तै कटारी नगरपालिका की ३५ वर्षीय अनिल चौधरी, १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १५ वर्षीय सुजन तामाङ घाइते भएका छन् ।
त्रियुगा नगरपालिका की २१ वर्षीया रेसिका बस्नेत र २० वर्षीया रेश्मा बस्नेत घाइते भएका छन् भने उदयपुरगढी गाउँपालिका का १७ वर्षीय तिलक बस्नेत र १० वर्षीय बालक दिपस तामाङ पनि घाइते रहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको बताइएको छ ।
दुर्घटना भएको अँधेरी क्षेत्र मदन भण्डारी राजमार्गकै सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित छ ।
अत्यधिक घुम्ती र ओरालो रहेको अँधेरीदेखि जोगीटोलसम्मको करिब तीन किलोमिटर सडक खण्डमा बारम्बार दुर्घटना हुने गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले उक्त क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गरी सवारी चालकलाई सतर्कतापूर्वक सवारी चलाउन सचेत गराउँदै आएको छ ।
स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहहरूले मोड सुधार र सडक स्तरोन्नतिको पहल गरिरहेको जनाए पनि हालसम्म प्रभावकारी काम अघि बढ्न नसक्दा दुर्घटना दोहोरिँदै आएको स्थानीयको गुनासो छ ।
View : 135
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved