विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले ‘बिजनेस एट स्कुल’ कार्यक्रम प्रारम्भ गरेको छ । कार्यक्रमको पहिलो श्रृंखला बुधबार मोरङको बुढीगंगा–१ टंकीस्थित नरग्राम माध्यमिक विद्यालयबाट सुरु गरिएको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परिवर्तित समयसँगै आफ्नो सीप तथा दक्षता अभिवृद्धि गर्न संगठनले कार्यक्रमको अवधारणा अघि ल्याएका बताए ।
कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउने उनले विश्वास व्यक्त गरे ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले स्थानीय तहले यस्ता कार्यक्रमप्रति सदैव सकारात्मक रहेको बताए । उनले युवालाई स्वदेशमै उद्यमशीलताका लागि सम्भावनाको बाटो देखाउन गाउँपालिकाले समेत उद्यमशीलता प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तर दिने बताए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुयालले शिक्षालाई व्यवहारिकतातर्फ उन्मुख गराउन कार्यक्रम प्रभावकारी हुने बताए ।
उनले शैक्षिक ज्ञानसँगै वास्तविक क्षेत्रको अनुभव आवश्यक हुने र उद्योग क्षेत्रमा रहेका अवसर तथा चुनौती विद्यार्थीले नजिकबाट बुझ्न यस्तो कार्यक्रम उपयोगी हुने बताएका थिए ।
नरग्राम माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ईश्वरप्रसाद कोइरालाले विद्यार्थी लक्षित यस्तो पहलले कक्षा कोठाभित्र सीमित रहेको सिकाईलाई जीवनउन्मुख बनाउने बताए ।
साथै, विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको सम्भावना पहिचानमा समेत कार्यक्रम उपयोग हुने उनले विश्वास व्यक्त गरे ।
नरग्राम माविका प्रधानाध्यापक कैलाश केसीले विद्यालयमा सुरु भएको अभियानलाई स्वागत गर्दै विद्यार्थीहरूका लागि प्रेरक बन्ने र व्यवहारिक तालिम, मनोविमर्श र उद्यमशीलता सम्बन्धी सीपले उनीहरूको भविष्य निर्माणमा ठूलो टेवा पु¥याउने बताए ।
बिजनेस एट स्कुल कार्यक्रमले विद्यार्थीहरूलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्ष रूपमा बुझाउने, विषयगत विज्ञबाट मनोविमर्श प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापन जस्ता सीप सिक्ने अवसर उपलब्ध हुने कार्यक्रम संयोजक सृजन प्याकुरेलले जानकारी दिए ।
उक्त कार्यक्रममा मनमोहन पोलिटेक्निकले इन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेशनले इण्डट्रिज अटोमेशन, शीर्षक इन्टरप्राइजेजले सीसीटीभी क्यामेरा जडानका विषयमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि ‘टेस्ट द ट्रेनिङ’ सञ्चालन गरेका थिए ।
त्यस्तै, करियर काउन्सिलिङ, सीप तथा उत्पादन प्रर्दशनी, प्रत्यक्ष तालिम, विजनेश आइडियाको प्रस्तुति तथा सफल उद्यमीहरूका अनुभव आदानप्रदान गरिएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।
उद्योग संगठनले सुरु गरेको उक्त कार्यक्रमलाई अघि बढाउन इन्स्योर परियोजना, क्वालिटी, एनभिक्यूएस परियोजनाले प्राविधिक सहयोग गरेको जनाइएको छ ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved