विराटनगर । संविधानले नै राज्यका सबै तहमा महिलाको न्यूनतम् ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्दागर्दै पनि यो व्यवस्थालाई कागजमा मात्रै सीमित बनाएर दलहरूले प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवार उठाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार संख्या हेर्दा दलहरूभित्र बाहिर भन्ने र गर्ने कुरामा अझै गहिरो खाडल देखाएको छ ।
प्रत्यक्ष निर्वाचनमा महिलालाई पाखा लगाउने र समानुपातिक सूचीबाट महिलाको कोटा भर्ने प्रवृत्ति यस पटकको निर्वाचनमा पनि दोहोरिने उम्मेदवारको सूचिले संकेत गरेको हो ।
निर्वाचन आयोगका अनुसार मंगलबार उत्साहप्रद रुपमा मनोनयन दर्ता सम्पन्न हुँदा देशभरमा ३ हजार ४८९ उम्मेदवारी मध्ये महिलाको संख्या ३९६ मात्रै देखिएको छ । प्रत्यक्ष निर्वाचनमा महिलाको यो संख्या ११ दशमलव ३४ प्रतिशतमात्रै हो ।
दलहरूको तर्फबाट उठेका महिला उम्मेदवारको प्रतिशत त झनै १० दशमलव २३ मा सीमित बनेको छ ।
आयोगले कुल उम्मेदवार मध्ये राजनीतिक दलहरूबाट २ हजार २९७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गरेकामा महिलाहरू जम्मा २३५ जना छन् ।
स्वतन्त्र उम्मेदवारी दिने १ हजार १८७ मध्ये १६० जना महिला रहेका छन् । बाँकी ३ हजार ८८ पुरुष र एक जना अन्य (तेस्रो लिंगी) तर्फका उम्मेदवार छन् ।
देशभर महिला उम्मेदवारको न्यून संख्या हेर्दा कोशी प्रदेशमा अझै चिन्ताको अवस्थामा देखाएको छ ।
कोशीमा ५०५ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई सबैभन्दा धेरै टिकट दिने दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोशीमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ ।
रास्वपाले देशभर १६ जना महिला उम्मेदवार उठाउँदा कोशीबाट झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, मोरङ–५ मा आशा झा, मोरङ–६ मा रुबिना आचार्य र सुनसरी–१ मा सरिन तामाङ (गोमा) चुनावी मैदानमा उत्रिएका छन् । नयाँ दल भए पनि राष्ट्रिय रुपमा उल्लेख्य महिला उठाउन नसकेको रास्वपाले कोशीमा अरु दलभन्दा अगाडि नै देखिएको छ ।
रास्वपापछि धेरै महिला उम्मेदवार उठाउनेमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देखिएको छ । नेकपाले देशभर १३ जना महिला उम्मेदवार उठाएकोमा कोशीबाट तीनजना छन् ।
सुनसरी–२ मा रामकुमारी चौधरी, संखुवासभामा सरिता खड्का र झापा–२ मा धर्मशीला चापागाईं उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसले यसपटक अघिल्ला चुनावको तुलनामा केही सुधार देखाएको छ । तर आम रुपमा भने कांग्रेसले पनि उल्लेख्य संख्यामा महिलालाई उम्मेदवार बनाउन सकेको छैन । देशभर ११ जना महिला उम्मेदवारलाई टिकट दिंदा २८ निर्वाचन क्षेत्र रहेको कोशीमा झापा–५ मा मनधरा चिमोरिया र झापा–२ मा सरिता प्रसाईं मात्रै मैदानमा छन् ।
नेकपा एमालेले सवैभन्दा कम महिला उम्मेदवार उठाएको छ । एमालेले १६५ क्षेत्रमा उम्मेदवार तयार पार्दा १० जनाले मात्रै प्रत्यक्षमा टिकट पाएका छन् ।
महिलातर्फ सुनसरी–३ मा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगामा अस्मिता थापा मात्रै एमालेबाट कोशीमा उम्मेदवार बनेका छन् ।
सवैभन्दा धेरै ६ वटा निर्वाचन क्षेत्र भएको मोरङ या ५ वटा क्षेत्र भएको झापामा, एमालेले एक जना पनि महिला उम्मेदवार उठाउन सकेन ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि कोशीमा तीन जना महिला उम्मेदवार उठाएको छ । तेह्रथुममा उषा तुम्बाहाम्फे, ओखलढुंगामा किशोरी कार्की र मोरङ–१ मा दुर्गामाया तामाङ उज्यालोबाट चुनावी मैदानमा देखिएका छन् ।
पाँचथर र भोजपुरमा महिला शून्य
कोशी प्रदेशमा महिला उम्मेदवारको उपस्थिति केही जिल्लामा शून्यमा सीमित छ । पाँचथरमा १५ दलका उम्मेदवार बन्दा महिला उम्मेदवारको नाम शून्य छन् ।
भोजपुरमा पनि १२ दलका १२ उम्मेदवार बन्दा महिला उम्मेदवार शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । यहाँ ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिता रहेपनि मुख्य दलहरूले नै महिला उम्मेदवारलाई अघि सारेनन् ।
कोशीमा सवैभन्दा धेरै झापामा १५ जना महिला उम्मेदवार मैदानमा छन् । पाँच निर्वाचन क्षेत्र रहेको झापामा ९० जना उम्मेदवार छन् ।
महिलाको यो संख्या भने कुल उम्मेदवारको १७ प्रतिशत हो । १५ जना महिला उम्मेदवार मध्ये झापा–३ मा मात्रै ५ जना प्रतिस्पर्धामा छन् ।
View : 233
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved