Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

उद्‌घाटन भइसकेको विराटनगर ट्रक व्यवसायी संघको अधिवेशन विवादले स्थगित

उद्‌घोष सम्वाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघभित्र विवाद चर्किंदै गएको छ । विवादका कारण संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभाको उद्‌घाटन भए पनि त्यसपछिको प्रक्रिया स्थगित हुन पुगेको हो । 
शुक्रबार भएको साधारणसभामा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेको छैन । 

संघमा आवद्ध रहेका २५१ सदस्यहरू मध्ये साधारणसभामा १४४ जना मात्रै उपस्थित भएपछि नरबहादुर भण्डारी नेतृत्वको असन्तुष्ट पक्षले उपस्थितिमा हस्ताक्षर नगर्दा अधिवेशन स्थगित भएको जनाइएको छ ।

भण्डारी नेतृत्वको समूह साधारण सभामा सहभागी भएर पनि उपस्थितिमा हस्ताक्षर नगर्दा अधिवेशनको बैधानिकतामाथि नै प्रश्न उठेको थियो । 

अधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष सञ्जीव सिग्देल र भण्डारी समूहले अध्यक्षसहितको पदमा प्यानलै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए । तर उपस्थितिमै हस्ताक्षर नगरेपछि कोरम नपुगेर अधिवेशन स्थगित भएको जनाइएको छ । 

दुवै समूहले आफ्नो प्रचार अभियान सुरू गरेपछि अधिवेशन नै स्थगित हुँदा पुरानै कार्यसमितिले काम गर्नुपरेको जनाइएको छ ।

अधिवेशनको उद्घाटनमा भण्डारी समूहमा रहेका पूर्व पदाधिकारी तथा केही सदस्यहरूले अतिथिका रूपमा आसन ग्रहण गरी अन्त्यसम्मै बसेका थिए । तर बन्दसत्रका क्रममा उनीहरूले माइन्यूटमा हस्ताक्षर नगर्दा अधिवेशन सम्पन्न कठिनाई भएको जनाइएको छ ।

भण्डारीको समूहले साधारणसभामा आसनग्रहणदेखि जलपान कार्यक्रममा समेत सहभागिता जनाएको थियो । ‘तर माइन्यूट पुस्तिकामा हस्ताक्षर नगर्ने यो कस्तो चालबाजी हो ? अन्तिम समयमा निर्वाचनमा हार व्यहोर्ने डरले भण्डारी समूहले उपस्थितिमा हस्ताक्षर नगरेको हो’ एक व्यवसायीले भने, ‘कि स्वस्थ रूपमा प्रतिष्पर्धामा उत्रिनु पर्यो, कि संघबाट बाहिरिनु पर्यो, यसरी दुई तरिकाले चल्न खोज्नेलाई संघले कारवाही गर्नुपर्दछ ।’ 

सिग्देल समूहले निर्वाचनमा जित हात पार्ने पक्का भएपछि अर्को समूहले बखेडा निकालेको ती व्यवसायीले दाबी गरे । उनले निर्वाचन प्रक्रियामा सहभागी हुन र लोकतान्त्रिक पद्धतिबाट आउने परिणामलाई स्वीकार गर्न चुनौती दिए । 

अधिवेशनको उद्‌घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । 

उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपी अछामी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हीरालाल श्रेष्ठ र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत उपस्थित भएर शुभकामना दिएका थिए ।

नेपाल सरकारले आर्थिक वर्ष २०७९–८० मा ढुवानी सेवामा भ्याट लगाएपछि विराटनगर ट्रक व्यवसायी संघभित्र भ्याट तिर्ने र नतिर्ने पक्षमा विवाद सिर्जना भएको थियो । दुई पक्षमा बा“डिएका व्यवसायीका कारण संघभित्रै विवाद चर्केको हो ।

सिग्देल समूह सरकारले लगाएको नियम मान्नुपर्ने जनाउ“दै भ्याटको पक्षमा उभिएको थियो । यसअघिकै विवादमा संघबाट अलग्गिएर मोरङ ट्रक संघ गठन गरेका भण्डारी पुनः संघमा जोडिएका थिए । भण्डारीको समूह भ्याट खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेको थियो । 

पहिले नै संघविरूद्ध गतिविधि गरेर अलग हुने र जोडिने गर्दै आएका भण्डारीलाई वर्तमान नेतृत्वले  अस्वीकार गर्दै आएको जनाइएको छ । 

अधिवेशन नै रोकिएपछि तत्कालका लागि पुरानै कार्यसमितिले काम गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै चाँडै कार्यसमितिको बैठक बसेर नयाँ मिति घोषणा गरिने जनाइएको छ ।

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved