Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङका नयाँ एसपी कार्कीले भने– ‘तस्करी शतप्रतिशत रोक्ने कसम खान्न’

उद्‌घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख भएर हालै आएका प्रहरी उपरीक्षक नवराज कार्कीले सीमावर्ती क्षेत्रको तस्करी शतप्रतिशत रोक्ने कसम नखाने बताएका छन् । कार्यालय प्रमुख भएर आएपछि पहिलो पटक सोमबार पत्रकारसँगको औपचारिक परिचय कार्यक्रममा उनले सीमा क्षेत्रको तस्करी शतप्रतिशत रोक्न नसकिने बताए । 

उनले नयाँ काम गर्छु भनेर सीमाको भन्सार छलीलाई सय प्रतिशत रोक्ने कसम नखाने बताएका हुन् । सीमामा तस्करी कहिल्यै शुन्यमा झार्न नसकिने भएकाले सकेसम्म र वलबुताले भ्याएसम्म नियन्त्रण गर्ने उनको भनाइ थियो ।

कोशी प्रदेशको राजधानीलाई नेतृत्व गर्न आएका प्रहरी उपरीक्षक कार्कीले लागुऔषध कारोबारको भने चेनब्रेक(क्रमभंग) गरिने बताए । ‘लागुऔषधको कारोबारलाई चेनब्रेक गर्नेगरीको योजना बनाएको छु’ कार्कीले भने । लागुऔषधको कारोबार नेपालमा पछिल्लो पटक अत्यधिक बढेको प्रहरीको कारवाहीले देखाएको छ । 

आपराधिक कृयाकपालमा लागेका मानिसलाई नियन्त्रणमा लिन प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने गर्छ । तर, कार्कीले भने सादा पोशाकका सुरक्षाकर्मी हटाएर घटना हेरेर मात्रै घुमुवा परिचालन गर्ने जानकारी दिए ।

‘घुमेरै सधैँ हाकिमको नजिक हुने र ड्युटी नगर्ने र गेटमा ड्युटी गर्नेमा फरक हुन्छ, सबैलाई फिल्डमा काम गर्ने मन हुन्छ’ कार्कीले भने–‘पुराना घुमुवाहरूलाई युनिफर्ममा ड्युटी लगाइएको छ ।’

एसपी कार्कीले पीडा र दुःख लिएर प्रहरी कार्यालयमा आउनेहरूलाई प्रहरीले नै प्राथमिकता नदिएको गुनासो आउने गरेकाले मोरङमा नयाँ नियम लगाइएको बताए । सहायता कक्ष मार्फत पीडितलाई पहिलो प्राथमिकतामा राखेर छलफल गराइने उनको भनाइ छ । मोरङका सबै स्थानीय तहमा गएर समस्याको पहिचान गरी समाधानको उपाय पनि खोजिने उनले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट सरुवा भएर मोरङ आएका कार्कीको मोरङ जिल्लामा चौथो पटकको सरुवा हो । उनी प्रहरी निरीक्षक हुँदा प्रहरी तालिम केन्द्र रानी, इलाका प्रहरी कार्यालय बेलबारी र उर्लाबारीमा पनि रहेर नेतृत्व गरिसकेका ब्यक्ति हुन् ।

नायव उपरीक्षक हुँदा उनले दमकको नेतृत्व गरेका थिए । उदयपुरको कटारी–६ स्थायी घर भएका कार्की २०६८ सालमा संयुक्त राष्ट्रसंघको मिसनमा सहभागी भएर नेपाल प्रहरीको सान राखिसकेका ब्यक्ति हुन् ।

View : 1497

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved