Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जनप्रतिनिधिहरूलाई मुख्यमन्त्री कार्कीको आग्रह- 'आफ्ना कमजोरी सुधार गरेर अघि बढ्नुस्'

उद्‌घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले शनिबार धनकुटा बजारमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्लास्तरीय प्रशिक्षात्मक तथा मध्यावधि समीक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

जनप्रतिनिधिहरूले आफ्नो कामको आत्मसमिक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अघि बढाउन मुख्यमन्त्री कार्कीको सुझाव छ । 

पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरू लथालिङ्ग भएको उदाहरण दिदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरूवीच समन्वयको खाँचो औंल्याए । 

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले एमालेवाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरित र पार्टीलाई वदनाम गर्ने छुट नरहेको स्पष्ट पारे । 

‘हामीलाई पार्टीले राम्रो काम गर्नु भनेर पठाएको हो । नराम्रो गर्ने र पार्टीलाई बदनाम गर्ने छुट हामीलाई छैन ।’ मुख्यमन्त्री कार्कीले भने, ‘आफ्नो कामको राम्रोसँग समीक्षा गरौं र जनपक्षीय काममा अघि बढौं ।’ 

एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै उनले एमालेले २०८४ मा अझै राम्रो नतिजा ल्याउने दावी गरे । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे । जनप्रतिनिधिहरूलाई सधै जनताको सुखदुखमा साथ दिन उनले आग्रह गरे । 

कार्यक्रममा एमालेवाट निर्वाचित दुई सय भन्दा बढी जनप्रतिनिधिहरू भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

View : 93

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved