विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमा पहिलो पटक हेमोपफ्फ्रुजन र प्लाज्माफेरेसिस गरी दुई नयाँ र उन्नत उपचार पद्धति सुरु गरेको छ ।
ती पद्धतिले बिरामीको रगतमा भएका हानिकारक पदार्थहरू छानेर हटाउने र सफा रगत पुनः शरीरमा फर्काउने कार्य गर्ने जनाइएको छ ।
हेमोपफ्र्युजन उपचार पद्धतिमा बिरामीको रगतलाई एक विशेष फिल्टरबाट पार गराएर विष, हानिकारक औषधि र विभिन्न रासायनिक पदार्थहरू हटाइने बताइएको छ । सो विधि विशेषगरी विषाक्तता (पोइजनिङ),
ड्रग ओभरडोज र गम्भीर संक्रमण (सेप्सीस) का बिरामीहरूको उपचारमा अत्यन्त उपयोगी र प्रभावकारी हुने अस्पतालले जनाएको छ ।
त्यसैगरी प्लाज्माफेरेसिस उपचार प्रक्रियामा रगतको प्लाज्मा भागबाट हानिकारक एन्टिबडी र विषाक्त पदार्थ छुट्याएर हटाइने र सो तरिका मुख्यतः स्नायु सम्बन्धी विभिन्न रोग र मृगौला सम्बन्धी जटिल बिरामीहरूको उपचारमा प्रयोग गरिने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका एनेस्थेसियोलोजिस्ट एवं क्रिटिकल केयर फिजिसियनका परामर्शदाता डा. दीपक पौडेलले बताए ।
ती उन्नत उपचार सेवाहरू सुरु भएपछि पूर्वी नेपालका बिरामीहरूलाई उपचारका लागि अब काठमाडौं वा भारत जानु नपर्ने डा. पौडेलले जनाएका छन् ।
डा. पौडेलका अनुसार ती सेवाहरूको सुरुवातले स्थानीय र पूर्वी नेपालका बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपचार स्वदेशमै पाउने सुविधा प्रदान गरेको छ । साथै बिरामीहरूको आर्थिक र शारीरिक बोझ पनि कम हुने अपेक्षा गरिएको छ ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved