विराटनगर । मिथिलाञ्चलसहित तराईवासीले मंगलबार साँझ लोक पर्वको रुपमा रहेको चौठचन्द्र पर्व मनाएका छन् । छैठ पछिको दोस्रो ठूलो पर्वको रुपमा चन्द्रमा तथा भगवान गणेशको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।
भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमाको पूजा गरिने भएकाले यो पर्वलाई चौठचन्द्र पर्व भनिएको हो । यो पर्वलाई चौरचन पर्वसमेत भन्ने गरिन्छ ।
सूर्यास्त भएपछि यो पर्व चन्द्रमा र भगवान गणेशको विशेष पूजापाठ गरी मनाइन्छ । यस पर्वमा नयाँ माटोको भाँडोमा दही र चामलको पिठोबाट बनाइएको खुजुरी, पेरुकिया, खीरपुडी जस्ता पारम्परिक तथा मौलिक पकवानहरु बनाएर चन्द्रमालाई अर्पण गरिन्छ । साथै केरा, नरिवल लगायतका फलफूल र मिठाई पूजाका सामग्रीका रुपमा राखिन्छ ।
घरको आँगनमा चौठचन्द्रको पूजा गरिन्छ । यस पर्वमा पूजा गर्ने महिला वा पुरुष दिनभरि उपवासमा बस्ने गर्छन् । परापूर्वकालमा मिथिलाका राजा हेमांगदले यो पर्व शुरु गरेपछि मनाउन थालिएको विश्वास गरिन्छ ।
पूजा गर्नुअघि गाईको गोबरले लिपेर आँगनमा चामलको घोलिएको पिठोबाट कलात्मक अरिपन बनाइन्छ । अरिपन गरिएको स्थानमा पूजाका सामग्री राखिन्छ ।
त्यसपछि ब्रतालुले धार्मिक विधिपूर्वक मन्त्रोचारण गरी गणेश चन्द्रमाका साथै विभिन्न देवीदेवताको पूजा गर्ने परम्परा रहेको विराटनगर तीनपैनीकी ब्रतालु अञ्जु कर्णले बताइन् ।
घरका महिला पुरुष तथा बालबालिका सबैले हातमा कुनै न कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने गर्छन् ।
यस दिन फलफूल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने तथा रित्तो हातले चन्द्रमाको दर्शन गरेमा दोष लाग्ने जनविश्वास रहेको अर्का ब्रतालु बिनिता कर्णको भनाइ छ ।
पर्व मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने परम्परासमेत रही आएको छ । यस पर्वसँगै केही अन्धविश्वासहरु पनि जोडिएका छन् ।
चौथीका दिन अर्काको बारीमा रहेको फलफूल चोर्ने, घरको छानोमा ढुंगा फाल्ने, अर्कालाई सामान्य हिसाबले क्षति पुर्याउने चलन छ ।
यसो गर्दा बिगार हुनेले दिएको गाली र श्रापलाई आशीर्वादकोरुपमा लिने गरिएको छ ।
चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले पौराणिक मिथिलाञ्चल क्षेत्रका घर–घरमा यो पर्व मनाइन्छ ।
पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा छ ।
View : 298
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved