अपाङ्गमैत्री बन्दै प्रदेशका मन्त्रालय
भवनको शिलान्यास गर्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राई ।
विराटनगर । कोशी प्रदेश सरकारले एक गैरसरकारी संस्थाको सहयोगमा समाजिक विकास मन्त्रालय परिसरमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित शौचालय भवन निर्माण गर्ने भएको छ । करुणा फाउन्डेसन नेपालको आर्थिक सहयोगमा मन्त्रालय परिसरमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित शौचालय भवन निर्माण हुन लागेको हो ।
उक्त भवनको बुधबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शिलान्यास गरेका छन् । सामाजिक विकास मन्त्रालयलयको सहकार्य र करुणा फाउन्डेसन नेपालको आर्थिक सहयोगमा मन्त्रालय परिसरमा निर्माण हुने पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित शौचालय भवन मुल्य अविवृद्धि कर (भ्याट) बाहेक पीहु एण्ड राज कन्ट्रक्सन प्रालि विराटनगरले ४० लाख १३ हजार ७२८ पैसामा ठेक्का पाएको छ ।
भवन निर्माण भएपछि मन्त्रालयमा आउने जन्मजात अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, दृष्टिवीहिन र गर्भवती महिलालगायतलाई सहज हुने मन्त्री राईले बताएका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री राईले भवन निर्माण पश्चात अपाङ्गताको क्षेत्रमा कार्य गर्न सहज हुने बताएका हुन् । उक्त अपाङ्गमैत्री कक्ष कोशी प्रदेश सरकारकै उदाहरणसहितको अभ्यासको अगुवा हुने मन्त्री राईले बताए ।
निर्माण कम्पनीले यही माघको दोश्रो साताबाट भवन निर्माणको कार्य शुरु गर्ने करुणा फाउन्डेसन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि भीष्म खनालले जानकारी दिएका छन् । प्रतिनिधि खनालका अनुसार निर्माण सम्पन्न पश्चात भवनको चाबी मन्त्रालयलाई हस्तान्तरण गरिने छ । मन्त्रालय परिसरमा निर्माण हुने एक तले भवनमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित सभाहल, पुरुष र महिलाको यूरिनल शौचालय निर्माण हुने छ । करुणा फाउन्डेसनले सामाजिक विकास मन्त्रालयसँग गत कात्तिक १२ गते भवन निर्माण गर्न सम्झौता गरेको थियो ।
शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखाकी प्रमुख दुर्गा बराल, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशका अध्यक्ष नविचन्द्र ढुङ्गेल, बहिरा महासंघका अध्यक्ष र करुणा फाउण्डेशन नेपालका प्रदेश निर्देशक एवम् संयोजक योगेन्द्र गिरीलगायतको उपस्थिति थियो ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved