भव्य रुपमा सकियो विराट ट्रेड एक्स्पो
विराटनगर । सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले भोग्दै आएको औद्योगिक जोनको समस्यालाई आफूले काठमाडौंसम्म पुर्याउने बताएका छन् ।
मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको शनिबार समापन कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले औद्योगिक जोनको समस्यालाई समाधान गर्न आफूले आवश्यक पहल गर्नेसमेत प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री सिन्हाले मोरङ र विराटनगर क्षेत्रको नेपालकै औद्योगिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए । मन्त्री सिन्हालाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले औद्योगिक क्षेत्रको समस्याबारे अवगत गराएका थिए ।
राठीले विराटनगर नेपालकै पहिलो औद्योगिक नगरी भएतापनि आजसम्म यहाँ औद्योगिक पूर्वाधारको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।
‘६५० विघा जमिन उपलब्ध हुने देखिएपनि आजसम्म विशेष आर्थिक क्षेत्र निर्माण कार्य अघि बढाउन सकिएको छैन’ अध्यक्ष राठीले भने, ‘कोभिड पश्चात् बन्देज गरिएका केही आयातजन्य वस्तुहरुलाई पूर्ण रुपमा फुकुवा गर्दै व्यापारीलाई व्यापार गर्न र उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न वातावरण निर्माण गरिनु पर्दछ ।’
उनले पछिल्लो केही वर्षयता मुलुकको अर्थतन्त्र निरन्तर दबाबमा रहेको बताउँदै हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको अवस्थामा अपेक्षित रुपमा नयाँ लगानी बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
संघले आर्थिक अवस्थालाई चलायमान बनाउन विराट ट्रेड एक्स्पो आयोजना गरेको जानकारी दिंदै एक्स्पोले व्यापारिक कारोबार बढाउने मात्रै नभई उद्योगी–व्यवसायीहरूलाई नयाँ ऊर्जा थपेको बताए ।
एक्स्पोले उपभोक्ता र उत्पादकलाई एउटै थलोमा जोडेको, नवप्रवर्तन, नयाँ व्यापार साझेदारी र सहकार्यका अवसरहरूसमेत सिर्जना गरेको बताए । एक्स्पोले यी सवै लक्ष्यलाई उल्लेखनीय रुपमा पूरा गरेको जानकारी दिए ।
संघका पूर्वअध्यक्ष नवीन रिजालले जेनजी आन्दोलनले निजी क्षेत्रलाई पारेको असरबाट माथि उकास्न आर्थिक गतिविधिलाई बढाउनु पर्ने र त्यसका लागि एक्स्पो जस्ता आर्थिक क्रियाकलाप देशभरि हुनुपर्ने बताए ।
एक्स्पोमा समावेश गरिएको थेमिटिक सेसनका माध्यमबाट नयाँ उद्यमी र उद्यमशीलताको विकास गरेको बताए । सरकारले स्वदेशी उत्पादनको खपत बढाउनका लागि युवा पुस्तालाई स्वदेशमै टिकाउने नीति अघि बढाउनु पर्ने सुझाव उनले दिए ।
एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पो उत्साहजनक रुपमा सम्पन्न भएको बताए । उनले एक्स्पोको आकर्षणका रुपमा रहेको ‘जलपरी र ओपेरा हाउस’ मा मात्रै एकलाख ५० हजार बढीले अवलोकन गरेको दाबी गरे ।
एक्स्पोको अवसरमा डाइमन्ड स्पोन्सरका रुपमा रहेको रमपम तयारी चाउचाउ र मारुती सिमेन्टसहित विभिन्न औद्योगिक प्रतिष्ठानहरू सम्मानित भए । एक्स्पोमा उत्कृष्ट स्टलका रुपमा किरन क्लासिक बेकरीलाई सम्मानित गरिएको थियो ।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved