Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

उद्‌घोष सम्वाददाता
१८ मंसिर २०८१, मङ्गलवार

बनियानी, १८ मङ्सिर ।  जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे ।

नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।

“चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ”, नगरप्रमुख थोप्राले भने, “सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।” उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ । 

प्रवेशद्वार र सडक ८४ लाख ६१ हजार पाँच सय ५० मा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख कार्कीले दोमुखा शिवसताक्षी नगरको गहना भएकाले यसको विकास र प्रवर्द्धनमा पालिका निरन्तर लागिरहेको बताइन् । नगर क्षेत्रमा रहेका तीन वटा पर्यटकीयस्थल दोमुखा, सतासीधाम र चिल्लागढले यस क्षेत्रको पहिचान बनाएको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उनले उल्लेख गरिन् ।  

शिवसताक्षी–१० का वडाध्यक्ष हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुम्हाङ्फेले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन लेखा शाखा प्रमुख प्रकाश योङ्हाङले गरेका थिए । रासस

View : 78

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved