Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग वाणिज्य महासंघ चुनाव

तीन उपाध्यक्षसहित राउत प्यानलका ६ जना निर्विरोध

उद्‌घोष संवाददाता
२२ चैत २०८२, आइतवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आइतबार विराटनगरमा भएको निर्वाचनमा ३ उपाध्यक्षसहित ६ जना निर्विरोध चयन भएका छन् ।

अध्यक्ष र सात जना सदस्य पदका लागि भने आइतबार साँझ ८ बजेदेखि मतदान सुरु भएको थियो । राति अबेरसम्म मतदान चलिरहेको थियो ।

महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरु चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र महासंघकै केन्द्रीय सदस्य नवीन रिजाल अध्यक्षको उम्मेदवार बनेका छन् ।

पाँच पदाधिकारीमध्ये अध्यक्षबाहेक सबै पदमा निर्विरोध हुँदा अध्यक्ष र सात जना सदस्यका लागि मात्रै निर्वाचन भएको हो ।

निर्विरोध चयन भएका तीन जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष र दुई जना सदस्य सबै राजेन्द्र राउत प्यानलका हुन् । 

निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फको उपाध्यक्षमा झापा धुलाबारीका ऋषिराज तिम्सिना निर्विरोध निर्वाचित हुँदा वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भएका छन् । 

एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।

महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

१ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला, नगर, वस्तुगत र एसोसिएट) र १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र त्यस्तै जिल्ला नगरबाट ५ जना सदस्य, वस्तुगतबाट २ र एसोसिएटतर्फबाट २ जना सदस्यसहित १४ सदस्यीय प्रदेश समिति छानिने छ ।

View : 1212

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved