काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् ।
पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शङ्का, उपशङ्का, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताए ।
“स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राखेकाे मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, अध्यक्ष दाहालले भने, “ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उनले नै स्पष्ट पारेका छन्, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशङ्का छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”
स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष दाहालले बताए । उनले भने, “शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भनेका छन् । उनले फरक मत भनेका छैनन् । उनको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”
पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उनले भने, “पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ ।
त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।”
अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे ।
“पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ ।
भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ ।
भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उनले भने ।
अध्यक्ष दाहालले साधारण किसान परिवारमा हुर्केर ठूलो राजनीतिक उचाइ हासिल गरेकाे बोगटीको व्यक्तित्व र चरित्रले सिङ्गो समाजलाई नै प्रभावित पार्न सक्ने अवस्था रहेको स्मरण गरे ।
“बोगटी पार्टीको नेतृत्वमा आउने र मन्त्री बन्ने मात्र होइन, आफ्नो विशेषता र चरित्रद्वारा सिङ्गो समाजलाई प्रभावित गरे”, उनले भने, “पार्टी अप्ठ्यारो अवस्थामा पुगेको अवस्थामा सम्पूर्ण जिम्मेवारी बोगटीलाई लगाइन्थ्यो, उनले त्यसलाई सफल बनाउथ्ये । ”
बोगटीले पार्टी लाइन र नेतृत्वप्रति आशङ्का गर्ने कहीँकतै भूमिका नखेलेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टी नीतिलाई परिमार्जित गर्ने र नेतृत्वलाई अझ बलियो बनाएर लैजानेमा उनी बढ्ता केन्द्रित हुने चर्चा गरे ।
“पार्टीभित्र नेतृत्वलाई समझदारीमा ल्याउने काम निरन्तर गरिरहे”, उनले भने ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई साङ्गठनिक रुपमा एकताबद्ध तथा वैचारिकरुपमा क्रान्तिकारी बनाउन सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताए ।
उनले पार्टीलाई थप बलियो बनाएर लैजानेमा सिङ्गो स्थायी समिति एकमत भएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई बलियो बनाएर लैजाने सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्रका वैचारिक असमझदारी र अन्तरसङ्घर्षलाई सही ढङ्गले विश्लेषण गरेर पार्टीलाई झन् एकताबद्ध बनाउन बोगटीले खेलेकाे भूमिका अतुलनीय रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले दिवंगत नेता बोगटीको योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान क्रियाशील रहेको स्पष्ट पारे ।
प्रतिष्ठानले आगामी दिनमा वैचारिक विषयलाई कार्यकर्ता र जनताका बीचमा लैजाने उनले जानकारी दिए । रासस
View : 135
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved