विराटनगर । ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको आफूखुशी गतिविधि नरोकिएपछि प्रमुख दलहरू आन्दोलित बन्न थालेका छन् । माझीका कारण सार्वजनिक सेवा प्रवाह नै प्रभावित हुने अवस्था बनेको भन्दै प्रमुख दलहरू आन्दोलित बन्न थालेका हुन् ।
गत मंसिरमा सम्पन्न उपनिर्वाचनबाट उदाएका अध्यक्ष माझीले पालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारुसहित एमाले–कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूलाई अमर्यादित रुपमा व्यवहार गर्दै आएका छन् ।
उनले अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्षले संविधान र कानुनअनुसार पाएको अधिकार समेत कटौती गरेर अन्य दलबाट जनप्रतिनिधिलाई चिढ्याउने काम गर्दै आएका छन् ।
अध्यक्ष माझीले गाउँपालिकाका सबै जनप्रतिनिधिसँग समन्वय गरेर नेतृत्व गर्नुको साटो अराजनीतिक रुपमा अघि बढेको कांग्रेस–एमालेले निष्कर्ष निकालेका छन् ।
दुवै दलले अध्यक्ष माझीको मनोमानी नरोकिएको भन्दै शनिबार झोराहाटमा जनप्रतिनिधिहरूसहित संयुक्त रुपमा छलफल गरेका छन् । कांग्रेस–एमालेका पालिकादेखि जिल्ला र प्रदेश तहका नेता कार्यकर्ताहरूको उपस्थितिमा भएको अन्तरक्रियाका वक्ताहरूले अध्यक्ष माझीको मनोमानीविरुद्ध सामूहिक रुपमा प्रतिवाद गरिने चेतावनी दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले अध्यक्ष माझीले पालिकाको सेवा प्रवाह नै प्रभावित हुने गरी जनविरोधी र कानुनविपरीतका क्रियाकलाप गर्दै आएको आरोप लगाए ।
अध्यक्षले सवै जनप्रतिनिधिलाई नेतृत्व गरेर अघि बढ्नुको साटो कानुन नै हातमा लिएर अराजक रुपमा प्रस्तुत हुन थालेको भन्दै कानुनी र जनताको तहमा भण्डाफोर गर्नुपर्ने अवस्था बनेको बताए ।
‘आफूलाई बिद्रोही देखाएर दुई वर्ष अरु दलले कामै गर्न दिएनन् भनेर भ्रम छर्ने काम गरेको देखिन्छ’ घिमिरेले भने, ‘पोषण कार्यक्रम रोकिएको रहेछ, आफैले हस्ताक्षर गरेर कर्मचारी निस्काशन गरेको रहेछ, कार्यालयमा बाउन्सर राखेर अरु जनप्रतिनिधिलाई पालिकामा प्रवेश गर्नै नदिने कार्य गरेको देखियो, यो त अब जनतामा जागरणकै रुपमा लैजानुपर्ने देखियो ।’
अध्यक्ष माझीको कार्यशैलीले कांग्रेस–एमालेले निकै सिरियस भएर कदम चाल्नुपर्ने बेला आइसकेको उनले बताए ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे संघीय शासन प्रणालीमा स्थानीय सरकारको काम प्रशासनिक कार्य गर्ने नभई विकासको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी रहेको बताए ।
तर ग्रामथानका अध्यक्ष माझीले भने आफ्नो अधिकारको दुरुपयोग र कानुनकै अपव्याख्या गरी उपाध्यक्ष र वडाध्यक्षहरूको अधिकार कटौतीमा केन्द्रित भएको भन्दै चर्को आलोचना गरे । उनले गैरकानुनी रुपमा काम भइरहँदा ग्रामथानवासीले अन्याय टुलुटुलु हेरेर बस्न नहुने बताए ।
‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको आ–आफ्नै अधिकार स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरिएको छ, पालिकाको पनि संसद हुन्छ, संसदमा एजेण्डा आउने प्रक्रिया हुन्छ तर कार्यपालिकाको बैठकै नबसी निर्णय हुने गरेको थाहा पाएँ’ घिमिरेले भने, ‘मैले त वहाँ निर्वाचित भएपछि फोन गरेर सवैलाई मिलेर लैजानुस् पनि भनेको थिएँ, यहाँ त गंगा पनि उल्टो बगेजस्तो काम भइरहेको छ, वहाँले सम्पूर्ण पालिकाको कार्यकारी अधिकार प्रयोग गर्न खोज्नु भएको रहेछ, यो त बिचित्रै भइरहेको रहेछ ।’
पालिकाको अध्यक्षको भूमिका जर्नेलको जस्तो नभएको स्मरण गराए । लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिले अहंकारी बन्न नपाइने बताए ।
‘तर हाम्रो ग्रामथानमा त बिनासकाले विपरीत बुद्धि जस्तो भएको छ, जसले मत दिएर बरदान दिए तिनै जनतालाई मल समेत रोक्ने काम अध्यक्षबाट भएको छ’ घिमिरेले भने ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले गाउँपालिका अध्यक्ष माझीले अधिकारको दुरुपयोग गरिरहेको बताए । कानुनी राज्यमा कसैले पनि कानुनभन्दा माथि काम गर्न नहुने भन्दै अध्यक्ष माझीलाई कार्यशैली सच्याउन चेतावनी दिए ।
‘एकजना व्यक्तिले आज कानुन मान्दिन भनिरहेको छ, उसैको कारण जनताले पाउने मल रोकिएको छ, वडा कार्यालयबाट हुने सिफारिस रोकिएको छ’ अध्यक्ष माझीले भने, ‘जनताले मत दिएर पठाइसकेपछि यस्तो अराजक भएर जनताकै विरुद्ध काम गर्न खोज्नुले उहाँको चेतनास्तर कस्तो रहेछ भन्ने देखाउँछ ।’
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुले जनताले भोट हालेर जनप्रतिनिधिलाई कुर्सीमा पु¥याएर मात्रै नहुने भन्दै जनताले जनप्रतिनिधिको कार्यशैलीको निगरानी पनि गर्नुपर्ने बताइन् ।
अध्यक्ष माझीले निर्वाचित भएदेखि नै आफ्नो अधिकारको दुरुपयोग गर्दै आएको आरोप लगाइन् ।
‘गाउँपालिकामा आफैले किर्ते निवेदन ल्याएर दर्ता गर्न लगाउने र कानुनविपरीत एकलौटी निर्णय गर्ने प्रवृत्ति रहेको छ’ उनले भनिन्, ‘जनताले अब यस्तो जनप्रतिनिधि जिताउन भोट हालेर मात्रै हुँदैन, निगरानी पनि गर्नुपर्यो, अराजकतालाई रोक्नुपर्यो ।’
उपाध्यक्ष थारुले अध्यक्ष माझीकै कारण किसानले मल नपाउने अवस्था बनेका कारण ११ दिनको प्रयासमा ग्रामथानका सहकारी संस्थामार्फत मल उपलब्ध गराइएको बताइन् ।
अध्यक्ष माझीले आफ्नै छोरालाई स्वकीय सचिवमा राखेको, पालिका अन्तरगतका ७ वटा वडा कार्यालयको मर्मत सम्भार खर्च अध्यक्ष माझीले आफ्नो मान्छेमार्फत गराएर अनुगमन नै नगराई भुक्तानी गरेको उपाध्यक्ष थारुले आरोप लगाइन् ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष विरेन्द्र माझीले आफूलाई अध्यक्ष माझीले कानुन विपरीत प्रवक्ताबाट हटाएको आरोप लगाए ।
गाउँपालिकाले लगाइसकेको खोला ठेक्का रद्द गर्ने कार्यमा अध्यक्ष माझीकै संलग्नता रहेको र पालिकाभित्र हुने अवैध उत्खनन्मा उनकै मिलेमतो रहेको दाबी गरे ।
‘अध्यक्षले सुरुमै गलत प्रस्तावहरू कार्यपालिकामा लिएर आउन थालेपछि हामीलाई शंका लाग्न थाल्यो, पछिपछि हामीले गलत प्रस्तावमा सहमति नजाउँदा अनेकौ अराजक गतिविधि हुन थाल्यो’ वडाध्यक्ष माझीले भने, ‘अहिले आफ्नै छोरालाई स्वकीय सचिव राखेका छन्, गाउँपालिकाभित्र व्यापक अनियमितता मौलाएको छ, जनप्रतिनिधिले चढ्ने सवारी साधन खोसेर थन्क्याएका कारण कामै नलाग्ने बन्दैछन्, जबरजस्ती स्वास्थ्य क्षेत्रका कर्मचारी निकालिएका छन्, माओवादीको वडा कमिटीको अध्यक्षलाई बाउन्सरमा भर्ना गरिएका छन्, यस्तो अनियमितता त कति हो कत्ति, यही अध्यक्षबाट भइरहेको छ ।’
वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझीले पनि पालिका अध्यक्ष माझीको कार्यशैली अराजक रहेको टिप्पणी गरे । उनले अध्यक्षकै कार्यशैलीका कारण अहिलेसम्म गाउँपरिषद् हुन नसकेको बताए ।
‘हामी जनताको काम गर्न छाडेर अध्यक्षको अराजकताविरुद्ध लडिरहेका छौं, अराजकताविरुद्ध अब जनताले पनि साथ दिनुपर्छ’ उनले भने, ‘अरु जनप्रतिनिधिको अधिकार खोस्ने र एकल रुपमा अघि बढ्ने अध्यक्षको कार्यशैली ठिक छैन, उनी पैसाको चलखेलमा समेत लागेको महसुस भइरहेको छ, अरु जनप्रतिनिधिहरूलाई बदनियतपूर्वक व्यवहार भइरहेको छ, यस्तो गतिविधि हामीले रोकेरै छाड्छौं ।’
वडाध्यक्ष माझीले नेपाली कांग्रेसबाटै निर्वाचित केही जनप्रतिनिधिले अध्यक्ष माझीलाई साथ दिएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराए ।
उनले पालिकाभित्रको कांग्रेस संसदीय दलको अनुशासनभित्र सवै जनप्रतिनिधि बस्नुपर्ने भन्दै बाहिर जानेलाई कारवाही गर्न माग गरे ।
नेपाली कांग्रेस ग्रामथान गाउँ समितिका अध्यक्ष किरण तुलसी विश्वासको अध्यक्षतामा आयोजित अन्तरक्रियामा वरिष्ठ अधिवक्ता कविता बस्नेत र गणेश लुईँटेल, अधिवक्ता डिल्लीराम घिमिरे लगायतले ग्रामथानका अध्यक्षले गरिरहेको गैरकानुनी गतिविधिलाई अदालतले रोक्दै आएको बताए । उनीहरूले कतिपय विषय भने दलहरूले राजनीतिक रुपमै समाधान गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका कोशी प्रदेश सभा सदस्यहरू जयप्रकाश चौधरी, ललितादेवी चौधरी, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री दिलिप गच्छदार, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा लगायतको उपस्थिति रहेको थियो ।
View : 610
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved