Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

गोल्डेन अस्पताल आफ्नै भवनमा

उद्घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

विराटनगर । आफ्नै अस्पताल भवन बनाएर विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि सरेको छ । विराटनगर–७ हस्पिटल चोकमा रहेको अस्पताल विराटनगर–११ जनपथ टोलमा अत्याधुनिक भवन बनाएर सरेको हो ।

आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको नयाँ भवनको उद्‌घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले स्वास्थ्य सेवा महंगो बन्दै गएको बेलामा गोल्डेन अस्पतालले आफ्नै सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरेका कारण सेवाग्राहीले सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीहरूलाई छुटसहित स्तरीय सेवा दिन आग्रह गरे ।

विराटनगरको विकासमा स्वास्थ्य संस्थाहरूको ठुलो योगदान रहँदै आएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले निजी अस्पतालमा सबैभन्दा ठुलो अस्पतालका रुपमा विकास गरेर लैजान अस्पतालका संचालकहरुलाई आग्रह गरे ।

उनले विराटनगरको स्वास्थ्य क्षेत्रका धेरै जनशक्ति कोशी प्रदेशकै रहेको भन्दै सबैले आफ्नै ठाउँमा राम्रो काम गरेर देखाउनका लागि प्रेरणा समेत प्रदान गरेको बताए ।

अस्पतालका संचालक सदस्य सनातन कुमार मण्डलले करिव ४८ करोड रुपैयाँको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको जानकारी दिँदै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रीत रहने बताए ।

उनले अस्पताललाई विश्वास गरेर हालसम्म पनि ३५ जना बढि चिकित्सकहरूको निरन्तर साथ सहयोग पाइरहेको बताए । मण्डलले १५ बेडको ओपीडी सेवाबाट अस्पताल सुरु गरेको स्मरण गर्दै अहिले गोल्डेन अस्पतालले आफ्नै एक सय बेड क्षमताको नयाँ भवनबाट सेवा प्रदान गर्ने अवस्थामा आइपुगेको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक एवं बरिष्ठ फिजिसियन डा. श्याम रौनियारले सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने अवसर प्राप्त गरेको बताए । उनले विराटनगरमा लामो संघर्ष गरेर अस्पताल स्थापना गरेको भन्दै अस्पताल संचालनका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले अस्पताल चोकमा रहेको भवनबाट समेत केही समय स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।

अस्पताल उद्घाटनका अवसरमा कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, पूर्व स्वास्थ्यमन्त्री एवं जसपाका केन्द्रीय सदस्य जयराम यादव, माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हसन अन्सारी, वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

अस्पतालकी अध्यक्ष आरती आनन्द रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तक, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

View : 3305

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved