विराटनगर विमानस्थल प्रवेश गर्नुअघि सिंहासन रेष्ट्रोमा एमाले नेता कार्यकर्ताहरुसँग भेटघाट गर्दै ओली । तस्वीर : उद्घोष
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगर विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको गुनासो गरेका छन् । अध्यक्ष ओलीले शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूमाथि विराटनगर एयरपोर्टमा अपमानजनक व्यवहार भएको बताएका हुन् ।
ओली केही दिन गृह जिल्ला झापाको बसाइपछि शुक्रबार काठमाडौं फर्केका थिए । उनी माघ ५ गते सोमबार भद्रपुर विमानस्थल हुँदै झापा गएका थिए ।
काठमाडौंको कार्यक्रममा सम्बोधनका क्रममा ओलीले भने, ‘अस्ति म यताबाट झापा जाँदा मलाई अलिकति राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा, नेत्र जलिसकेछ हिजो फर्केर आउँदा के के न म सुन तस्करझैं गरेर चेकिङ गरेको छ, हैरान पारेको छ ।’
चार पटक प्रधानमन्त्री भइसकेका व्यक्ति तथा मुलुकको मुख्य पार्टीका अध्यक्षमाथि भएको अपमानजनक व्यवहारको समाचार भने कुनै पनि मिडियामा नआई पहिलो पटक ओली आफैले खुलासा गरेका हुन् ।
आखिर ओलीले भनेजस्तो के कस्तो अपमानजनक व्यवहार उनीमाथि भएको थियो ? उद्घोषले विभिन्न व्यक्तिहरूसँग जिज्ञासा राख्दा कसैले पनि यकिन साथ यसै भएको बताउन सकेनन् ।
धेरैले भने अति विशिष्ट कक्ष (भीआईपी रुम) प्रयोग गर्न नपाउँदा ओलीले गुनासो गरेको हुनुपर्छ ।
भदौ २३ र २४ गतेपछि बनेको जेनजी सरकारले देशभरिका एयरपोर्टका भीआईपी कक्षहरू बन्द गर्ने परिपत्रअनुसार अहिले ती कक्षमा ताला लागेका छन् । जसका कारण जो कोही भीआईपीहरूले अहिले अन्य यात्रु सरह सामन्य कक्षबाटै जाने आउने गर्नुपर्छ ।
धेरै पटक काठमाडौं ओहोरदोहोर गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अहिले सामन्य कक्षबाटै आउने जाने गर्छन् ।
‘न मन्त्री न मुख्यमन्त्री सबैका लागि अहिले भीआईपी कक्ष ताला लागेको छ’ मुख्यमन्त्री कार्कीका एक सचिवालय–सदस्यले भने । झापामा सोझै ‘एक्जिट’ हुनुपरेकाले ओलीले त्यस्तो अपमानको भएको नठानेको हुनुपर्छ ।
तर, फर्कदा विराटनगर विमानस्थलमा नियमअनुसार ब्यागेज तथा लगेजको एक्सरे जाँच हुँदा उनले अपमानित महसुस गर्नुपरेको हुनुपर्ने एक सुरक्षाकर्मीले लख काटे ।
जसलाई ओलीले ‘आफूलाई सुन तस्करजस्तो अपमानित व्यवहार गरियो’ भनेको हुनसक्ने ती सुरक्षाकर्मीको बुझाइ छ ।
स्थानीय पार्टी कार्यकर्तालाई आफूमाथि अपमान भएको एक शब्द केही नबताई ओलीले किन काठमाडौंमा त्यसो भने कार्यकर्ताहरूले चाहिँ यस विषयमा अनविज्ञता प्रकट गरेका छन् । धेरै जनाले आफूहरू विराटनगर एयरपोर्टछेउको सिंहासन होटलसम्म गएको मुख्य एयरपोर्टमा के भएको आफूहरूलाई थाहा पत्तो नभएको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले आफूले अध्यक्ष ओलीलाई बाटैको सिंहासन होटलमा भेटेको र त्यहीँबाट नमस्ते गरेको फर्केको बताए ।
‘एयरपोर्टमा के भयो, थाहै पो भएन’ घिमिरेले भने । घिमिरेजस्तै नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापालाई पनि एयरपोर्टमा ओलीमाथि के भयो आफूलाई केही थाहा नभएको बताए । उनले पनि घिमिरेले झै ‘अरु साथीहरूलाई सोध्नुस् त’ भने ।
यता मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी कवित कटवाल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि विराटनगर विमानस्थलमा कुनै पनि प्रकारको अपमानजनक व्यवहार नभएको बताउँछन् ।
‘देशकै ठूलो नेता, पूर्वप्रधानमन्त्री’ एसपी कटवालले भने, ‘सेक्युरिटी ह्यारेसमेन्ट’ गर्ने भन्ने त कुरै हुँदैन ।’ कटवालले पूर्वप्रधानमन्त्री ओलीले सामन्य कक्षबाट जानुपरे पनि अन्य यात्रु सरह शरीर जाँच नगरिएको बताए ।
‘हामीले ‘बडी चेक’ नगरी सम्मानजनक बिदाइ गरेका हौं’ कटवालले भने, ‘तर पनि के कुरामा अपमान महसुस गर्नुभयो, त्यो हाम्रो जानकारीमा अहिलेसम्म आएको छैन ।’
उनले एयरपोर्टमा लगेजहरू स्क्यान गर्नेबाहेक पूर्वप्रधानमन्त्री ओलीको हकमा अन्य कुनै अन्यथा व्यवहार नभएको बताए ।
‘लगेज वा ब्यागेज स्क्यान भए होलान्, त्यो एयरपोर्टको जोकोहीका लागि सामन्य नियम हो’ एसपी कटवालले भने, ‘नभए त्यहाँ अरु केही भएकै छैन ।’
त्यसो त पार्टीका शीर्षस्थ नेताहरू आउजाउ गर्दा विमानस्थलमा स्थानीय पत्रकारहरू समाचारका लागि जाने गर्दछन् । यसै क्रममा विमानस्थल बाक्लो जानेमा नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर पनि पर्छन् ।
उनका अनुसार पूर्वप्रधानमन्त्री ओली शुक्रबार काठमाडौं फर्कने क्रममा विराटनगर विमानस्थलमा १०–१२ जना स्थानीय पत्रकारहरू थिए ।
उनीहरू विमानस्थलमा ओलीलाई केही प्रश्न सोध्न चाहन्थे । तर, त्यो दिनको भीड र कार्यकर्ताको नाराबाजीले गर्दा पत्रकारले केही सोध्नै पाएनन् ।
‘ओलीले बोल्न खोज्दा पनि त्यो दिन कार्यकर्ताको हल्लाले बोल्नै दिएनन्’ पत्रकार मानन्धरले भने, ‘कार्यकर्ताले यति नै हल्ला गरे कि ओली आफै परेशान भए ।’
पत्रकारिताको लामो अनुभव भएका मानन्धर त्यस दिन ओलीको मुखाकृति आफैले आफैलाई असुरक्षित–असुरक्षित ठानेको जस्तो चाहिँ देखिएको बताउँछन् ।
‘किन हो किन ओली आफै डराएझैं चाहिँ देखिन्थे’ पत्रकार मानन्धरले भने, ‘योबाहेक अन्य कुनै मान–अपमान भएको हामीले देखेनौं ।’
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भयो भनेपछि काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा खैलाबैला भएको छ ।
कार्यालयले उक्त दिनको सीसीटीभी फुटेज मगाएर यर्थाथ के भएको हो जाँच गरिरहेको एक प्रहरी सुरक्षाकर्मीले बताए ।
यद्यपि प्रारम्भिक भिडियो फुटेजमा कहीँ कतैबाट ओलीलाई अपमान गरिएको पुष्टि नभएको ती सुरक्षाकर्मीले बताए ।
View : 272
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved