Biratnagar, Morang, Nepal
११ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

रोङमा टुहुरा विद्यार्थीलाई ‘उज्यालो भविष्य भत्ता’

उद्‌घोष संवाददाता
११ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन (टुहुरा) विद्यार्थीका लागि मासिक २ हजार रूपैयाँका दरले ‘उज्यालो भविष्य भत्ता’ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत टुहुरा विद्यार्थीको शिक्षा, स्वास्थ्य र आर्थिक सुरक्षालाई लक्षित गर्दै सो कार्यक्रम घोषणा गरेको हो । 

हाल गाउँपालिकाभित्र २१ जना टुहुरा विद्यार्थी रहेको जनाइएको छ । उनीहरूलाई मासिक भत्ता उपलब्ध गराउनुका साथै विद्यालय व्यवस्थापन र स्वास्थ्य बीमाको व्यवस्था पनि गाउँपालिकाले गर्दै आएको छ ।

यसअघि गाउँपालिकाले प्रत्येक टुहुरा विद्यार्थीको नाममा १० हजार रूपैयाँ र सिद्धी जलविद्युतबाट २० हजार रूपैयाँ गरी ३० हजार रूपैयाँ बैंक खातामा जम्मा गरिसकेको जनाएको छ । सो रकम उच्च शिक्षाका लागि वा गाउँपालिकाको सिफारिसमा मात्रै झिक्न मिल्ने विशेष खातामा राखिएको छ ।

गाउँपालिकाले सबै टुहुरा विद्यार्थीको डिम्याट खाता पनि खोलिदिएको छ । उनीहरूको नाममा आईपीओमा लगानी गर्ने कामसमेत सुरू गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट दीर्घकालीन आर्थिक लाभ र वित्तीय सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिइएको पालिकाले जनाएको छ ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले टुहुरा विद्यार्थीको शैक्षिक तथा आर्थिक भविष्य सुदृढ बनाउन गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताए । 

उनले ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

View : 23

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved