सत्ता फेरबदलको असर कोशीमा
विराटनगर । केन्द्रीय गठबन्धनमा आएको फेरबदलसँगै कोशी प्रदेश सरकारको नैतिक हैसियत सकिएको नेकपा एमालेले दाबी गरेको छ । एमालेले मुख्यमन्त्री केदार कार्कीले नैतिकता देखाएर आजै राजिनामा दिनुपर्ने बताएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले सकेसम्म आजै राजिनामा दिनुपर्ने बताए ।
‘वहाँ जुन गठबन्धनमा सामेल भएर सरकारको नेतृत्व गरिरहनु भएको छ, त्यो गठबन्धन नै भत्किएपछि स्वतः अल्पमतमा पर्नुभयो’ भण्डारीले भने, ‘नैतिकता देखाएर अब आजै राजिनामा दिनुपर्छ, राजिनामापछि संविधान अनुसार नै वैकल्पिक सरकार बन्छ ।’
उनले नयाँ सरकार बन्न संविधानले नछेक्ने पनि दाबी गरे । सर्वोच्च अदालतले वैकल्पिक सरकार बन्ने अवस्था रहँदासम्म संसद् विघटन गर्न पाइदैन् भन्ने व्याख्या गरेको बताए ।
नेकपा एमालेका ३९ सांसदको समर्थनसहित कांग्रेसबाट ८ जनाको नेतृत्वमा विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री कार्कीले एमालेलाई छाडेर केन्द्रीय सत्ता गठबन्धन दलबाट मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसपछि एमाले मुख्यमन्त्री कार्कीसँग रुष्ट बनेको थियो ।
प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीले जुन गठबन्धनमा सामेल भएको हो त्यो गठबन्धन नै टुटिसकेको सिधै अल्पमतमा परेको दाबी गरे ।
‘अल्पमतमा रहेको प्रधानमन्त्रीले होस् वा मुख्यमन्त्रीले होस्, राजिनामा त दिनैपर्छ, त्यसका आधारमा आजै राजिनामा दिनुपर्ने हो’ उनले भने, ‘वहाँ रहेको गठबन्धनको १४ संख्या त आजैबाट घट्यो, वहाँ अल्पमतमा पुगिसक्नु भयो, अब सरकारमा बसिरहनु त हुँदै हुँदैन, अब त वहाँले गरेको निर्णय पनि बदर योग्य बन्छ ।’
View : 790
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved