विराटनगर । कोशी प्रदेशसभाको सचिवमा संघीय संसदमा लामो अनुभव संगालेका पूर्व सचिव सुदर्शन खड्का नियुक्त भएर मंगलबारदेखि कार्यभार सम्हालेका छन् ।
अवकाशको पाँच महिनापछि खड्का कोशी प्रदेशसभाको रिक्त सचिव पदमा नियुक्त भएका हुन् । सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको सचिव नियुक्त गर्ने व्यवस्था अनुसार सभामुख अम्बरबहादुर बिष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार खड्कालाई सचिव पदमा नियुक्त गरेका हुन् ।
जेनजी आन्दोलनमा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त भएको देवकोटा चोकस्थित कोशी प्रदेशसभालाई मोरङकै कटहरी गाउँपालिका–१ जमटोकीस्थित कटहरी फलफूल तथा तरकारी थोक बजारको प्रयोगविहिन भवनमा सरेको हो ।
प्रदेशसभाको रुप दिन लागिएको सोही भवनमा सचिव खड्कालाई सभामुख बिष्टले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि नौ महिनादेखि कार्यवाहक प्रदेशसभा सचिवको भरमा प्रदेश सभा चल्दै आएको थियो ।
निमित्त सभा सचिव गौतमराज अमात्यको समेत अनिवार्य अवकाश भएपनि प्रदेशसभा सचिवविहिन बनेको थियो ।
सचिवमा नियुक्त भएका खड्काले संघीय संसदको संसद सेवामा ३३ वर्ष काम गरिसकेका छन् ।
संघीय संसदको सचिवमा पाँच वर्ष काम गरेर अवकाश लिएका खड्काले कोशी प्रदेशसभाको गतिविधिसँग पहिल्यैदेखि नजिक रहेको बताए ।
‘अन्य प्रदेशमा भन्दा मलाई कोशीमा रहेर काम गर्न धेरै सहज लागेको छ, पूर्व रमाइलो पनि लाग्छ’ सपथ ग्रहणपछि सचिव खड्काले सञ्चारकर्मीहरूसँग भने, ‘मसँग संसदमै रहेर काम गरेको लामो अनुभव पनि छ, सवैसँग समन्वय गरेर संसदीय गरिमालाई अझ उचो र बलियो बनाउन भूमिका निर्वाह गर्नेछु ।’
सपथ ग्रहणपछि कटहरीस्थित प्रदेशसभा सचिवालयको कार्यकक्षमा उनले पदभार ग्रहणसमेत गरेका छन् । सपथ ग्रहण कार्यक्रममा उपसभामुख सृजना दनुवार, कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रहादुर आङ्बोलगायत प्रदेश सांसदहरू र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।
मंगलबारदेखि प्रदेशसभा सचिवालयको बोर्ड राखेर सचिवालयको नियमित काम सुरु गरिएको छ । सभामुख, उपसभामुख र सचिवको कार्यकक्ष तयार भइसकेको जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा सचिवालयको सुरक्षाबाट फिर्ता गएको प्रहरी टोली पनि मंगलबारदेखि नियमित सुरक्षामा फर्किएको सचिवालय स्रोतले जनाएको छ ।
प्रदेश सरकारले आगामी मध्य मंसिरमा प्रदेशसभाको अधिवेशन बोलाउने गरी सचिवालय व्यवस्थापन, सभा हल व्यवस्थापन लगायतका कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरिसकेको जनाइएको छ ।
View : 399
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved