Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीका सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयनमा चुनौती

उद्घोष सम्वाददाता
१० वैशाख २०८१, सोमवार

इटहरी । नगरभरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने इटहरी उपमहानगरपालिकाको निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन तथा हिसानको निर्देशनमा विद्यालयहरुले उपमहानगरको निर्णय कार्यान्वयन नगर्ने भएपछि चुनौती देखिएको हो । उपमहानगरको उक्त निर्णय बिरुद्ध प्याब्सनले उच्च अदालत विराटनगरमा दायर गरेको रिट उपर  सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नहुने आदेश दिएको थियो ।

अदालतमा मुद्दा बिचाराधीन रहेको भन्दै निजी विद्यालयहरूले सर्कुलर गर्दै एकै प्रकारको पोशाक लागू नगर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् ।

इटहरीका निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसन इटहरीद्वारा एकै प्रकारको पोशाक लागू नगर्न र शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिन सर्कुलर गर्दै स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए संगठनले जिम्मेवारी लिने उल्लेख गरिएको  छ । 

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । तर, इटहरी क्षेत्रमा निजी विद्यालयले चर्को शुल्क लिने गरेको उपमहानगरको आरोप छ ।

इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले एकलौटी ढंगले निजी विद्यालय मास्ने गरी गरेको एकल निर्णय आफूहरुले नमान्ने विद्यालय सञ्चालकहरुको भनाई छ । हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले शैक्षिकसत्र सुरु भैसकेको अवस्थामा अन्तिम समयमा उपमहानगरले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने बताए ।

उपमहानगरपालिकाका नगरप्रमुख पौडेलले गरेको एकलौटी निर्णयले निजी विद्यालय सञ्चालक मात्र नभएर हजारौ विद्यार्थी र अभिभावकले मानसिक तनाव झेल्नुका साथै अन्यौल सिर्जना गरेकाले तत्काल निर्णय कार्यान्वयन गर्न नसक्ने अवस्था आएको अध्यक्ष भट्टराईले बताए । 

भर्ना शुल्क पनि नलिन निर्देशन दिएपनि निजी स्कुलहरूले भर्ना शुल्क लिइरहेका जनाउँदै उपमहानगरले कारर्वाही गर्ने चेतावनी दिएको छ । इटहरी नगरक्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा सामुदायिक र बाँकी निजी बिद्यालयहरु रहेका छन् ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved