Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुनकोशीमा बेपत्ता तीन बालबालिका मध्ये दुई दिनमा दुईको शव फेला

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालबालिकाहरूमध्ये बुधबार बिहान थप एकजनाको शव फेला परेको छ । रुद्र बहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगरको शव बिहान करिव ६ बजेतिर भेटिएको वडाध्यक्ष हिमबहादुर मगरले जानकारी दिए ।

सुनकोशीमा गत आइतबार दिउँसोदेखि बेपत्ता भएका दुई बालक र एक बालिकामध्ये केदार मगरका ९ वर्षीय छोरा रिदम मगरको शव मंगलबार भेटिएको थियो । 

रेखाको शव उनीहरु डुबेर बेपत्ता भएको स्थानदेखि करिव साढे दुई किलोमिटर तल दुर्गेढुंगा भन्ने ठाउँमा भेटिएको वडाध्यक्ष मगरले बताए ।

रिदमको शव मंगलबार एक किलोमिटर तल खोटाङतिर सुनकोशीको किनारमा भेटिएको थियो । बेपत्ता भएका बालबालिकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको टोली परिचालन भइरहेको जनाइएको छ ।

आइतबार अपरान्ह होली खेल्न भन्दै गाउँबाट रङ्ग लिएर सुनकोसीतर्फ गएका १५ जना बालबालिकाहरूमध्ये सुनकोशीमा नदीमा पाँचजना पौडी खेल्न पसेका थिए । उनीहरूमध्ये दुईजनालाई स्थानीयले उद्धार गरे पनि तीन जना भने डुबेर बेपत्ता भएका थिए । 

डुबेर बेपत्ता भएका मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर मगरको शव भने तीन दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन ।

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved