विराटनगर । मोरङको कटहरी गाउँपालिकालाई आगामी वैशाख ११ गते ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ ।
यसै अभियान अन्तर्गत सोमबार वडा नम्बर ७ लाई एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा गरिएको हो ।
७ नम्बर वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी र वडा नम्बर ७ का अध्यक्ष मनोजकुमार माझीको उपस्थिति थियो ।
वडा नम्बर ७ भित्रका ३ सय २० जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप लगाएको सुनिश्चित भएपछि सो वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
सो कार्यक्रममा बोल्दै पालिका अध्यक्ष देवराज चौधरीले स्वास्थ्य क्षेत्रमा पालिकाले ठूलो फड्को मारिरहेको बताए ।
उनले वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउँदै विस्तारै अन्य वडाहरूलाई पनि घोषणा गर्दै वैशाख ११ गते सिङ्गो पालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने जानकारी दिए ।
अध्यक्ष चौधरीले पालिकाका बिरामीलाई निशुल्क रक्त उपलब्ध गराउनेदेखि, प्रसूतिलाई निशुल्क उपचार सुबिधाका साथै नगद सहयोगसमेत प्रदान गर्ने गरिएको बताए ।
सोही अवसरमा वडा नम्बर ७ का ज्येष्ठ नागरिकहरूलाई सम्मान र विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।
वडा कार्यालयले वडाका ७० वर्ष पुगेका २ सय ३७ जना ज्येष्ठ नागरिकहरूलाई ब्याग प्रदान गर्दै उनीहरूको अनुभव र योगदानको सम्मान गरेको हो ।
यस्तै, वडाभित्रका आर्थिक अवस्था कमजोर भएका र पढाइमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको छ ।
सो अवसरमा पतञ्जलि योग समिति कटहरीलाई साउण्ड सिस्टमका साथै योग गर्दा लगाउने पोशाकसमेत प्रदान गरिएको थियो ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved