Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर महानगरपालिकाका ५१ कर्मचारीको बढुवा (नामावलीसहित)

उद्घोष सम्वाददाता
७ फागुन २०८०, सोमवार

विराटनगर । विराटनगर महानगरका ५१ जना कर्मचारीहरूको बढुवा भएको छ । अधिकृत स्तर नवौँ तहका दीपक पौडेल अधिकृत स्तर दसौं तहमा बढुवा भएका छन् ।

अधिकृत स्तर सातौँ तहका कृष्ण भट्टराई, तारा शर्मा खत्री र शुभ नारायण यादव अधिकृत स्तर आठौं तहमा बढुवा भएका छन् ।

अधिकृत स्तर छैटौँदेखि अधिकृत स्तर सातौँमा १३ जना, सहायक स्तर पाचौँदेखि अधिकृत स्तर छैटौँमा २२ जना र सहायक स्तर चौथोदेखि सहायक स्तर पाँचौं तहमा १२ जनाको बढुवा भएको हो । महानगरपालिकाले तह वृद्धि, मिलान र बढुवाका लागि निवेदन पेश गर्न २०८० पुस २६ मा सूचना प्रकाशित गरेको थियो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन, समायोजन संशोधन र मिलान भई एवम् लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर विराटनगर महानगरपालिकामा नियुक्त भई कार्यरत रहेका र तोकिए बमोजिमको योग्यता पुगेका कर्मचारीहरूको तह वृद्धि गर्न सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूको बढुवा भएको जनाइएको छ ।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको मिति २०८० फागुन ४ मा बसेको बैठकको निर्णयानुसार कोशी प्रदेश स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा ४ को उपदफा (५) र दफा ८ को उपदफा (१६)(१७) बमोजिम उनीहरूको तह वृद्धि, बढुवा र तह मिलान गरिएको हो ।

यसअघि विराटनगर महानगरपालिकाले कर्मचारीको स्तर वृद्धि नगरेपछि सहायक चौथोदेखि नवौँ तहसम्मका २३ कर्मचारीले उच्च अदालत विराटनगरमा महानगर कार्यपालिकालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उच्च अदालत विराटनगरले गत पुस २ मा स्तरवृद्धिको माग गर्दै निवेदन दिएका विराटनगर महानगरपालिकाका कर्मचारीको पक्षमा आदेश दिएको थियो । कर्मचारीको पक्षमा आदेश दिएपछि महानगरपालिकाले सूचना निकालेर बढुवाका लागि निवेदन माग गरेको थियो ।

कोशी प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० अनुसार स्तरवृद्धि तथा जेष्ठता कायम गर्ने गराउने कार्य अन्य स्थानीय निकायहरूबाट भइसके पनि विराटनगर महानगरपालिकाबाट निवेदन गर्दा समेत अध्यादेशमा गरिएको व्यवस्था अनुसार निवेदकको स्तरवृद्धि तथा जेष्ठता कायम गर्ने कार्य नभएको भन्दै कर्मचारीले अदालत गुहारेका थिए । 

विराटनगर महानगरपालिकाले भने प्रदेश सरकारले ल्याएको अध्यादेश नमान्ने भन्दै स्तरवृद्धि नगरेपछि महानगरपालिकाका अधिकृत छैटौँ पदमा कार्यरत नवराज ढुंगाना सहित २३ जना कर्मचारीले विराटनगर महानगरपालिका नगर कार्यपालिका, मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए ।

उच्च अदालत विराटनगरले कोशी प्रदेश अन्तरगत अन्य स्थानीय तहहरूमा निवेदक सरहका कर्मचारीहरूको स्तरवृद्धि तथा जेष्ठता कायम भइसकेको भन्ने निवेदनसाथ पेश भएका कागज प्रमाणहरूबाट देखिएको भन्दै उच्च अदालतले गत असार २४ गते महानगरपालिका समक्ष लिखित जवाफ माग गरेको थियो ।

स्तरवृद्धिको माग गर्दै महानगरपालिकालाई प्रतिवादी बनाएपछि महानगरपालिकाले अध्यादेश खारेजीको माग गर्दै उत्प्रेषणको मुद्दा समेत हालेको थियो । प्रदेश सरकारले ल्याएको कानुनविरुद्ध स्थानीय तह जानु संविधानको उल्लङ्घनको भएको कानुन व्यवसायीले बताएपछि पछि सो मुद्दा महानगरपालिकाले फिर्ता लिएको थियो ।

महानगरपालिकाले कर्मचारीहरूको बढुवा नियोजित रुपमा रोकेको भन्दै कर्मचारीहरूले आन्दोलनको चेतावनी दिन थालेपछि बाध्य भएर बढुवाको सूचना निकालेको एक कर्मचारीले बताए । उनले अदालतको आदेश र प्रदेश कानुन अनुसार कर्मचारीहरूको बढुवा भएको बताए ।

View : 11148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved